विशेष
काभ्रेमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ, थप परीक्षण काठमाडौंमा

काभ्रे, जेठ ३–
कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको छ ।
उनको तत्कालै अस्पतालले स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ । पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । थप परीक्षणका लागि स्वाब टेकु पठाइएको छ । यस बारे थप विवरण स्वास्थ्य मन्त्रालयले जानकारी गराउने छ ।
बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।
अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।
स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।
कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।























