Breaking News
आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, वैशाख ३१–
नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९ जना पुरुष, ४, १० वर्षका बालिका र २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा २२ देखि ४२ वर्ष उमेर समूहका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सामा ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासीमा पहिलोपटक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.अधिकारीले बताए ।
यसअघि आजै दिउँसो कपिलवस्तुमा एक र नेपालगञ्जमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ पुगेको छ । हिजो (मंगलबार) एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
























