स्वास्थ्य

भैरहवा भन्सारबाट ११ करोडको औषधि आयात

Banner

कमल रायमाझी

भैरहवा, वैशाख २९–

बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट रु। ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले जानकारी दिनुभयो ।

उक्त कार्यालयका अनुसार गत चैत ११ गतेपछि बन्दाबन्दीको ४६ दिनमा ६० लाख ७ हजार ८२७ किलोग्राम बराबरको औषधिजन्य सामग्री आयात भएको छ । बन्दाबन्दीपछि ज्वरो आउँदा प्रयोगमा ल्याइने सिटामोलदेखि लाइफ सेभिङ ड्रग आयात भएका छन् । तिनमा आयुर्वेदिक औषधि, सर्जिकलका सामग्री, आँखाका औषधि, स्लाइन, प्रेसर, एन्टिबायोटिक इन्जेक्सन रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी पूर्ण लम्सालले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ मा सो भन्सार कार्यालयबाट औषधिजन्य रु दुई अर्ब २७ करोड ६१ लाख ८४ हजार ८११ बराबरको सामग्री आयात भएको थियो । सो अवधिमा भारतबाट भैरहवा भन्सार कार्यालय हुँदै एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलुप्याज, तरकारी तथा फलफूल र अन्य गरी सात हजार ५२१ मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका छन् ।

बन्दाबन्दीको ४६ दिनका अवधिमा रु सात करोड ६८ लाख ५३ हजार मूल्य बराबरको सरसफाइमा प्रयोग हुने सामग्री ४७३ मेट्रिक टन भारतबाट नेपाल आयात भएको भन्सार कार्यालयको अभिलेखले बताउँछ । तरकारी तथा फलफूल रु ८९ करोड ६९ लाख एक हजार बराबरको २८ हजार ८५ मेट्रिक टन सामान बोकेर कन्टेनर बन्दाबन्दी समयमा भैरहवा भन्सार कार्यालय हुदै नेपाल प्रवेश गरेका छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>