Breaking News

नेकपा सचिवालय बैठक बस्दै : नेताहरु परामर्शमा व्यस्त

Banner

काठमाडौं, बैशाख २०–

अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ ।

अपरान्ह बस्ने पार्टीको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको वामदेवको विषयमा छिनोफानो हुने एक सचिवालय सदस्यले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसका लागि दुबै पक्षले आन्तरिक छलफलसहितका तयारी तीव्र पारेका छन् । विवाद मिलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

सो भेटघाटलगत्तै प्रचण्डले माधव कुमार नेपालसँग पनि भेटघाट गरेपछि प्रचण्डसँग सहमति नभएको अड्कलवाजी भएको छ ।

कोटेश्वरमा भएको नेपाल – प्रचण्ड भेटमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले पहिला राजीनामा दिनपर्नेबारे धारणा राख्नेगरी तयारी गरेको बताइएको छ ।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नै दिनुपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाइनु पर्ने र त्यसका लागि कोराना भाइरसको महामारी अन्त्य हुनुपर्ने सर्त राखेको समाचारहरु सार्वजनिक भएका थिए ।

अध्यादेश फिर्ता लिएपछि पनि अर्को पक्षले सोही विषयलाई लिएर समस्या पार्न खोजेपछि प्रधानमन्त्री ओलीले संकट समाधानका लागि सक्रियता अझ बढाएका छन् ।

उनले आफूनिकटका सांसददेखि प्रधानन्यायाधीश र शुक्रबार राति अख्तियार प्रमुख नवीन घिमिरेसम्मलाई भेटेका छन् । ओलीनिकट समूह आज पनि विहानैदेखि सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारेको गृहकार्यमा जुटेको बताइएको छ ।

यसका लागि ओलीका अत्यन्तै विश्वासपात्र मानिएका केही सचिवालय सदस्य र मन्त्रीहरु खटिएको स्रोतले जनाएको छ ।

बैशाख ८ मा सरकारले ल्याएको अध्यादेशपछि उत्पन्न विवादको समाधान खोज्न शनिबार बस्ने सचिवालय बैठक निर्णायक हुने भएकाले यसलाई नेकपाका लाखौँ नेता–कार्यकर्ताले गम्भीर चासोका साथ हेरेका छन् ।

गत बुधबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको राजीनामा माग्ने मनसायले बालुवाटार पुगेका नेताहरुलाई अध्यक्ष ओलीले पद वाँडफाँड गर्ने प्रस्ताव गरेपछि नेकपाभित्रको राजनीति एकाएक युर्टन भएको थियो । तर, ओलीले उक्त प्रस्ताव मनदेखि राखेका हुन् वा अल्मल्याउने प्रयासमात्र हो भन्ने निक्र्योल भने शनिबारको उनको प्रस्तुति, प्रस्ताव र सामुहिक निर्णयबाट मात्रै टुङ्गो लाग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>