मकवानपुर

लकडाउनले माछा व्यवसायी सङ्कटमा, भाडा तिर्न समस्या

Banner

सुरेश झा,

हेटौंडा,बैशाख १९-

कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनका कारण मकवानपुर जिल्लाका माछा व्यवसायी सङ्कटमा परेका छन् ।मासिक करिब रु ९० लाख बराबरको माछा बिक्री वितरण हुँदै आएकोमा अहिले एक महिनाको अवधिमा रु पाँच लाखको पनि बिक्री हुन नसकेको व्यवसायीको गुनासो छ ।

व्यवसायी राजु साहले हेटौडा लगायत जिल्लाको विभिन्न स्थानमा थोक तथा खुद्रा गरी करिब तीन दर्जन माछा पसल रहेको जानकारी दिनुभयो । रौतहटको चन्द्रनिगाहपुर घर भएका उहाँ हेटौँडा–१० बसपार्कमा एकीकृत माछा बजारमा रहेको न्यू मदन माछा पसलका थोक बिक्रेता समेत हुन् । सो बजारमा १३ वटा थोक तथा खुद्रा पसल रहेका छन् । प्रत्येक दिन ५० देखि ८० केजीसम्म व्यवसायीले माछा बिक्री गर्ने गरेका थिए । तर अहिले लकडाउनका कारण १० केजी पनि माछा बिक्री हुन नसकेको अर्का व्यवसायी छेदी साहले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकको सरकारी जग्गामा रहेको एकीकृत माछा बजारका व्यवसायीलाई घरभाडा तिर्नसमेत समस्या रहेको उहाँ गुनासो छ । उहाँले भन्नुभयो,“सरकारले घरभाडा नलिन घोषण गरेको तर उपमहानगरले अहिलेसम्म केही भनेको छैन । ” उहाँले भन्नुभयो । जिल्लामा ६० प्रतिशत माछा भारतबाट आउँछ । ती माछा नेपालको भन्दा सस्तो हुन्छ । होटेल, पार्टीप्यालेस तथा रेस्टुरेन्टमा माछाको माग अत्यधिक हुन्छ । तर लकडाउनले भारतबाट माछा आउन नसकेको माछा मासु व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अनुसार ४० प्रतिशत माछा बारा र पर्साको जितपुर, मधुवन, बगवाना तथा सिमरौनगढबाट विभिन्न किसानको पोखरीका माछा हेटौँडा बजारमा ल्याएर बिक्री हुने गरेकोे छ ।

त्यसैगरी जिल्लामा रहेको हेटौँडा रिसोर्ट, थानाभज्याङ र नवलपुरको पोखरीबाट साप्ताहिकरुपमा माछा बिक्रीका लागि आउने गरेको बताइन्छ । हेटौँडामा रहेको मत्स्य विकास केन्द्रले पनि माछा बिक्री वितरण बन्द गरेको छ ।

माछा व्यवसायी राजु साहले लकडाउनका कारण प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म मात्र पसल खोल्ने र उपभोक्तालाई पसलसम्म आउन समस्या भएकाले पनि माछा व्यवसायी अहिले घाटामा गइरहेको बताउनुभयो । माछा बारा र पर्सा जिल्लामा पाइन्छ तर त्यसका लागि स्थानीय प्रशासनको पास लिएर जानुपर्छ । बिक्री वितरण छैन त्यसैले त्यहाँबाट बिक्रीका लागि नल्याएको उहाँको भनाइ छ ।

सानो माछा राप्ती र करा खोलाका स्थानीयवासीले समातेर बजारमा केही स्थानमा थोरै मात्रामा बिक्री वितरण गरेको पाइएको छ । अहिले माछाको मूल्य पनि वृद्धि भएको छ । रु ३०० मा प्रतिकेजी बिक्री हुने माछा अहिले रु ५०० मूल्यमा बिक्री भइरहेको छ । बजारमा राहु, नैनी, भाकुरा, कमलकाट, ग्रासक, बिगेटलगायतका माछा बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्रले अहिले माछाको बिक्री घटेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>