Breaking News

कोरोना भाइरसबारे फैलिएका यि भ्रम र यसको वास्तविकता

Banner

काठमाडौँ, वैशाख १३-

हाल विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोभिड–१९ को नाम दिएको छ ।

यो नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास (एसएआरएस) सम्म गराउन सक्दछ ।

कोभिड -१९ को महामारी फैलिएसँगै यससम्बन्धी मिथक पनि सामाजिक सञ्जाल तथा जनमानसमा फैलिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस्ता मिथकहरुलाई इन्फोडेमिक भन्दै यसलाई चिर्नुपर्ने बताउँदै आएको छ। डब्लुएचओले सामाजिक सञ्जालमा सर्वसाधरणलाई भ्रम छर्नेगरी फैलिएका यस्ता मिथकहरुलाई भ्रामक भन्दै विश्वास नगर्न आग्रह गरेको छ।

यस्ता छन् कोभिड-१९ बारे फैलिएका मिथक:-

१. के कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सर्छ ?

हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

२. के मोबाइल नेटवर्कबाट कोरोना भाइरस फैलिन्छ ?

सामाजिक सञ्जालमा मोबाइल नेटवर्कबाट कोभिड-१९ को संक्रमण फैलिने भन्दै सामाजिक सञ्जालमा मिथ्या तथ्य सार्वजनिक भएसँगै डब्लुएचओले यसलाई गलत भनेको छ।

डब्लुएचओले भाइरस रेडियो विकीरण वा मोबाइल नेटवर्कका माध्यमबाट यात्रा गर्न नसक्ने जनाएको छ। हाल कोभिड देखिएका धेरै देश ‘फाइभजी’ सेवा नभएका देश छन्। कोभिड १९ को संक्रमण श्वासप्रश्वास प्रणालीबाट बाहिर निस्किने ड्रपलेट (थुक वा खकारका छिटा) बाट सर्ने डब्लुएचओले सुरुदेखि बताउँदै आएको छ। यदि संक्रमित मानिस खोक्दा, हाछ्यू गर्दा वा थुक्दा कोरोना भाइरसका जीवाणुहरु पनि त्यस्ता छिटासँगै बाहिर निस्किन्छन्। यिनै जीवाणुबाट संक्रमण सर्छ।

३. घाममा उभिँदैमा कोरोना भाइरस मर्दैन

सामाजिक सञ्जालमा फैलिएको अर्को मिथक भनेको सूर्यको प्रकाश वा २५ डिग्री भन्दा माथिको तापक्रमणमा कोरोना भाइरस जीवित रहँदैन भन्ने गलत हल्ला। सूर्यको ताप वा त्यस्तो कुनै तापक्रममा रहँदा कोरोना भाइरसबाट जोगिइन्छ भन्ने छैन। हालसम्म वैज्ञानिकहरुले कोरोना भाइरससँग तापक्रमको सम्बन्धको विषयमा तथ्यगत प्रमाण दिन सकेका छैनन्। तपाईँहरुलाई कोरोना भाइरसको संक्रमण हुनसक्छ चाहे तपाईँ गर्मी तापक्रममा हुनुहुन्छ वा चिसो। गर्मी मौसम भएका देशहरुमा पनि कोभिड-१९ को संक्रमण फैलिएको छ। त्यसैले तपाईँले आफैलाई कोभिड-१९ बाट जोगाउनका लागि आफ्नो हात नियमित धुनुहोस्। आफ्नो मुख, नाक र आँखा नछुनुहोस्।

४. के एकपटक संक्रमित भइसकेपछि कोरोना भाइरास जिन्दगीभर शरीरमा रहन्छ ?

कोरोना भाइरस रोगबाट तपाईँ निको हुनुहुन्छ। एकपटक कोरोना भाइरसको संक्रमण भयो भन्दैमा तपाईँको शरीरमा जिन्दगीभर रहन्छ भन्ने होइन। अधिकांश मानिस संक्रमणपछि निको हुन्छन्। उनीहरुले आफ्नो शरीरबाट भाइरसबाट मुक्त बनाउन सक्छन्। यदि तपाईँलाई कुनै संक्रमणको लक्षण देखिएका छन् भने तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस्। संक्रमण भइसकेपछि हेरचाह आवश्यक पर्छ।

५. के १० सेकेन्ड श्वासप्रश्वास रोक्न सके तपाईँलाई कोरोना भाइरस छैन भन्ने हो?

गलत, १० सेकेन्डसम्म कुनै असहज महसुस बिना नखोकी श्वास रोक्दैमा तपाईँमा कोरोना भाइरस रोग वा अन्य संक्रमण छैन भन्ने होइन। कोरोना भाइरसको साझा लक्षण भनेको सुख्खा खोकी, आलश्यता र ज्वरो नै हो। केही मानिसहरुलाई गम्भीर लक्षण पनि देखिन सक्छन्। कतिलाई निमोनिया जस्ता घातक संक्रमण पनि हुन सक्छ। आफ्नो शरीरमा भाइरस छ वा छैन भन्ने निर्क्यौल गर्ने उत्तम उपाय नै प्रयोगशाला परीक्षण नै हो। श्वासप्रश्वाससम्बन्धी अभ्यासले संक्रमणको निर्क्यौल गर्न सकिँदैन बरु थप घातक हुन सक्छ।

६. के रक्सी सेवनले कोरोना भाइरसको संक्रमण रोक्छ ?

कोरोना भाइरसको संक्रमणबाट जोगिन नियमित साबुन पानीले हात धुनुपर्छ। साबुन पानी फेला नपारे स्यानिटाइजरको प्रयोग गर्न डब्लुएचओले भनेको छ। स्यानिटाइजरमा रक्सीको प्रयोग हुन्छ। यसैलाई लिएर सामाजिक सञ्जालहरुमा रक्सीको सेवनले कोरोना भाइरसको संक्रमण नहुने हल्ला फैलिएका छन्। विश्व स्वास्थ्य संगठनले यसलाई गलत भनेको छ। रक्सी सेवनले तपाईँलाई कोभिड-१९ बाट जोगाउँदै बरु तपाईँको स्वास्थ्यलाई थप जोखिममा पार्न सक्छ।

७. कोभिड-१९ आद्रता बढी भएको स्थानमा रहँदैन?

कोभिड -१९ को संक्रमण गर्मी आद्रता बढी भएको मौसममा पनि सर्छ। अहिले सम्मको तथ्यले कोभिड-१९ सबै मौसम र क्षेत्रमा सर्छ। मौसमसँग भन्दा पनि सुरक्षाका अन्य उपाय अपनाउनका लागि डब्लुएचओले आग्रह गरेको छ। आफूलाई कोभिड-१९ बाट जोगाउने उत्तम उपाय भनेको हात धुनु नै हो। संक्रमितबाट टाढा रहनु नै हो।

८. हात सुकाउने मेसिन वा कपाल सुकाउने मेसिनले कोरोना भाइरस मार्छ?

गलत, हात सुकाउने मेसिन वा कपाल सुकाउने मेसिनबाट कोरोना भाइरसको जीवाणु मर्दैन। तपाईँले साबुन पानीले हात धुनैपर्छ। हात धोइसकेपछि तपाईँले सुकाउनु वा सफा कपडाले पुछ्नुपर्छ।

९. के विकीरणले कोरोना भाइरस मार्छ?

गलत, कुनै पनि विकीरणले हात सुकाउनु भनेको तपाईँको शरीर वा स्वास्थ्का लागि घातक हो। यूभी रेडिएसनले तपाईँमा छालासम्बन्धी रोक निम्त्याउन सक्छ।

१०. थर्मल स्क्यानरले कोरोना भाइरस पत्ता लगाउँछ?

थर्मल स्क्यानर ज्वरो भएका व्यक्तिको पहिचान गर्न सक्छ। कोरोना भाइरसका कारण ज्वरो आएको भए त्यस्ता व्यक्तिको पहिचान थर्मल स्क्यानरले गर्न सक्छ। तर, यसले ज्वरो नआएका संक्रमितको पहिचान गर्न सक्दैन। कोरोना भाइरसको संक्रमण शरीरमा प्रवेश गरेपछि मानिसमा लक्षण देखिन वा ज्वरो आउन दुईदेखि १० दिनसम्म लाग्न छ। हालै कतिपय मानिसमा संक्रमण भए पनि लक्षण नदेखिएका केसहरु बढ्दै गएका छन्। त्यसैले यो प्रभावकारी नहुन पनि सक्छ।

११.के शरीरमा रक्सी वा कोलोरिन छर्दैमा कोरोना भाइरस मार्छ?

गलत, रक्सी वा कोलोरिन छर्दैमा कोरोना भाइरस मर्दैन। यदि तपाईँको शरीरमा संक्रमण प्रवेश गरिसकेको भए यसले काम गर्दैन। स्यानिटाइजरको प्रयोगले शरीर बाहिर तपाईँको हातमा भएका भाइरस मार्न सक्छ। यस्ता बस्तु शरीरमा छर्दा तपाईँको शरीरमा नकरात्मक असर पर्छ। यस्ता बस्तु तपाईँका वरपरका तपाईँले प्रयोग गर्ने सामाग्रीलाई डिस्इन्फेक्ट गर्न प्रयोग गर्नुपर्छ।

१२. के एन्टिवायोटिक कोरोना भाइरसको उपचारमा प्रभावकारी छ?

गलत, एन्टिवायोटिकले भाइरसविरुद्ध काम गर्दैन। यो ब्याक्टेरियाविरुद्धको औषधि हो। भाइरसले संक्रमित भएकाहरुमा उपचारका लागि एन्टिवायोटिकको प्रयोग गर्न नहुने डब्लुएचओले जनाएको छ। यद्यपि तपाईँ कोरोना भाइरसको कारण अस्पतालमा भर्ना हुनु भएको छ भने त्यस्ता व्यक्तिलाई अन्य व्याक्टेरियाको संक्रमण नहोस् भनेर यसको प्रयोग गर्न भने सकिने डब्लुएचओले जनाएको छ।

१३. के लसुन खाँदा कोरोना भाइरसको संक्रमणबाट जोगाउँछ?

लसुनमा विभिन्न जीवनाशक गुण पक्कै छन्। तर अहिलेको कोरोना भाइरसको संक्रमण लसुनको सेवनले कम गर्छ भन्ने हालसम्म कुनै प्रमाण फेला परेका छैनन्। त्यसैले तपाईँले कोरोना भाइरसबाट जोगिनका लागि सावन पानीले हात धुनु नै उत्तम हो।

१४. के चिसो मौसम र हिउँले कोरोना भाइरस मार्छ?

चिसो मौसमले नयाँ कोरोना भाइरस वा अन्य कुनै संक्रमण मार्छ भन्ने कुरा पत्याउने कुनै आधार छैनन् । मानिसको शरीरको सामान्य तापक्रम भनेको ३६.५ देखि ३७ डिग्री सेल्सियस हो । बाहिरी तापक्रम थपघट हुँदैमा संक्रमण शरीरमा प्रवेश नगर्ने भन्ने होइन। त्यसैले कोरोना भाइरसबाट बच्नका लागि साबुन पानीले हात धोऔँ।

१५. के कोरोना भाइरस तातो पानीले नुहाँउदैमा सर्दैन?

तातो पानीले नुहाए कोरोना संक्रमण नहुने हल्ला पनि सामाजिक सञ्जालमा उत्तिकै छ। बेलारुसका राष्ट्रपतिले त साउना लिए कोरोना नलाग्ने बताएका थिए। तर, विश्व स्वास्थ्य संगठनले यसलाई गलत भनेको छ। तपाईँको शरीरमा भाइरस प्रवेश गर्ने भनेको नाक मुखका माध्यमबाट हो। त्यसैले आफ्नो हात सफा राखौँ। हातले नाक मुख छुन रोकौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>