Breaking News
ओली प्रचण्डद्वारा सांसदहरुसँग अध्यादेश र कोरोना संकटबारे समूहगत छलफल

काठमाडौं, बैशाख १०-
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामुहिक रुपमा आफ्ना पार्टीका सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल सुरु गरेका छन् ।
पार्टीका सांसदहरुलाई प्रदेशगत आधारमा समूह बनाई अध्यक्षद्वयले बुधबार छलफल सुरु गरेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार सरकारले जारी गरेका दुई अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार र कोरोनाविरुद्ध अभियानबारे सांसदहरुसँग समुहगत छलफल गरिएको हो ।
सोमबार सरकारले दुई अध्यादेश ल्याएपछि नेकपाभित्र र बाहिर समेत तीव्र विरोध भइरहेका बेला दुई अध्यक्षले सांसदहरुसँग सामूहिक छलफल गरेका हुन् । नेकपा स्थापना दिवसको अवसर पारेर उक्त छलफल गरिएको छ ।
यता, नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले आज एक वक्तव्यमार्फत मुलुक कोरोना भाइरस सङ्क्रमणको सङ्कटमा रहेका बेला संविधानको मर्मविपरीत जारी गरिएको आरोप लगाएका छन् ।
























