चितवन विशेष
चितवनमा कृषि विश्वविद्यालयले बनायो तितेपाती स्यानिटाइजर

चितवन, वैशाख ८–
चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले तित्तेपाती स्यानिटाइजर बनाएको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए ।
तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको सापकोटाले बताए ।
यसैबीच सो स्यानिटाइजर आजैदेखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैंडाकोट क्षेत्रका तरकारी तथा फलफूल विक्री गर्ने व्यवसायी तथा कृषकहरुलाई आज निःशुल्क रुपमा वितरण गरिएको छ । विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शारदा थपलिया, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा.इश्वरीप्रसाद कडरीया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायतको उपस्थिति रहेको थियो ।
























