चितवन विशेष

एक्सपर्टले दियो चितवन प्रहरीलाई स्वास्थ्य सामग्री

०
Banner

चितवन, वैशाख ८–

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगाउन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

आज (सोमबार) जिल्ला प्रहरी कार्यालयमै पुगेर एक्सपर्ट चितवनले सर्जिकल मास्क, ग्लोब्स र हात धुने साबुन सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङलाई सो सामग्री हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै प्रवन्ध निर्देशक अधिकारीले कोरोनाको माहामारीको बेला आफ्नो ज्यानलाई जोखिममा राखेर प्रहरीहरु दिनरात नभनी खटिएकोले सो सामग्री सहयोग गरिएको बताए । उनले भने–‘स्वास्थ्यकर्मीसंगै अहिले सुरक्षाकर्मी पनि उच्च जोखिममा हुनुहुन्छ, हाम्रो सानो सहयोगले प्रहरीलाई सुरक्षामा खटिन सहयोग मिल्नेमा विश्वास छ ।’

प्रवन्ध निर्देशक अधिकारीले एक्सपर्ट फाउण्डेसन मार्फत विभिन्न विपद्को बेलामा सहयोग गर्दै आइरहेको स्मरण गराउँदै यसपटक पनि एक्सपर्टले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर यो सहयोग गरेको बताए । उनले आज २५ हजार बराबरको सो सामग्री सहयोग गरिएको भन्दै आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो सामग्री ग्रहण गर्दै प्रहरी उपरीक्षक (एसपी) गुरुङले एक्सपर्टको यस सहयोगले प्रहरीलाई मैदानमा खटिन सहयोग मिल्ने बताए । उनले भने–‘एक्सपर्टको यो सहयोगले हाम्रो आत्मबल बढाएको छ, एक्सपर्टलाई धन्यवाद दिन चाहन्छु ।’ एसपी गुरुङले यसपालीको माहामारी फरक खालको भएकाले प्रहरी पनि उच्च जोखिममा रहेको बताए । उनले निजी संघसंस्थाहरुबाट नै प्रहरीलाई सहयोग मिल्दै आएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।

सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता एकनारायण कोइराला, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, एक्सपर्टका तर्फबाट किरण पौडेल, ऋषि थापालगायत उपस्थित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>