क्रिकेट
लकडाउन बढेपछि आइपिएल अनिश्चितकालका लागि स्थगित

काठमाडौं, वैशाख ३-
कोरोनाको त्रासका बीच भारतमा लकडाउन आगामी मे ३ सम्म बढेपछि चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चित भएको छ ।
भारतमा कोरोनाभाइरसविरुद्ध लड्न लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल स्थगित गरिएको सबै फ्रेन्चाइज टिमलाई जानकारी दिएको छ।
अब आइपिएल कहिले हुने विषयमा निश्चित छैन।
बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीसँग अब आइपिएल सेप्टेम्बर-नोभेम्बर गर्ने विकल्प छ । तर यो मितिमा टी-२० विश्वकप हुँदैछ। त्यसैले बिसिसिआईले सेप्टेम्बरमा एकै महिनामा आइपिएल सकाउनु पर्ने हुनेछ । यो हुँदा पनि एसिया कपलाई असर गर्नेछ ।
मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्म लकडाउन हुने घोषणा गरेपछि भारतीय क्रिकेट बोर्डका शिर्ष पदाधिकारीको बैठकले यस बर्षको आइपिएल स्थगित गर्ने विषयमा छलफल गरेको क्रिकइन्फोले उल्लेख गरेको छ ।



























