समाज
खसीको मासु १८ सय प्रतिकिलो बेच्ने पसललाई २ लाख जरिवाना

काठमाडौं,चैत २८-
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार मूल्यभन्दा बढीमा मासु विक्री गर्ने दुईवटा पसललाई दुई/दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।
विभागले आइतबार गरेको अनुगमनका क्रममा शंखमूलमा रहेको आइकालु मासु पसलले खसीको मासु प्रतिकेजी १८ सयमा बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराएको हो। विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६९२० (क) ३८ (ङ) को कसुरमा दफा ३९ (ख) बमोजिम बढी मूल्य लिई बिक्री गर्ने पसललाई जरिवाना तिराएको हो।
विभागले कुखुराको मासुलाई प्रतिकेजी चार सय ५० मा बिक्री गरेको पाइएपछि विजयनगरको मुस्कान मासु पसललाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
त्यस्तै विभागले राहत सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको कसुरमा बाफल सीतापाइलामा रहेको न्यून बिके स्टोरलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको छ। त्यस्तै कलंकीमा रहेको चितवन खाद्य स्टोरलाई पनि उपभोक्ताको हित विपरीत काम गरेको भन्दै विभागले दुई लाख जरिवाना तिराएको जनाएको छ।



























