विचार/ब्लग

भारतको सिको : थपडी बजाएर वा दिपावली गरेर महामारीलाई जित्न सकिएला ?

Banner

ई.सागर कार्की-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहीसमय अगाडि कोरोना विरुद्धको युद्धमा सामेल हुनुहुने सबै योद्धाको  सम्मान र हौसलाको लागि भन्दै जनतालाई ताली वा घण्टी बजाउन आग्रह गर्नु भएको थियो । त्यो समय अधिकांस भारतीय जनताहरूले गणेश चतुर्थी झै चोक र सडकमा जम्मा भएर बडो मज्जा लिएछन् । फेरि आज मोदीजीले सबै जनतालाई कोरोना विरुद्धको युद्धमा एकबद्धता देखाउन साँझ ९ बजे ९ मिनेट बत्ती निभाएर दियो, मैनबत्ती वा मोबाईलको फ्ल्यास लाईट बाल्न अनुरोध गरेका छन् । आशा गरौं जनताले यसलाई दिवालीको रूपमा बुझ्ने छैनन् ।

ठ्याक्कै यस्तै नेपालमा पनि भारतको सिको गर्ने समूहहरू छन् । विवेकशील नेपाली पार्टीले पनि भारतमा जस्तै ताली बजाउने कार्यक्रम राख्यो । सर्वसाधरण सबैलाई बिभिन्न माध्यम मार्फत सार्वजनिक अपिल नै गरियो । अनि ताली बजाएको भिडियो सोसियल मिडियामा राख्न अनुरोध पनि गरियो । यद्यपि धेरैले त यसको सुइँको समेत पाएनन् ।

हिजो मात्रै एक जना बहिनीले मलाई म्यासेज गर्नुभयो, “दाई, दिपावलीको लागि दियो किन्न जानुपर्ने थियो । बाहिर निस्कन दिन्छ कि दिदैन होला?”

“किन दिपावली हो र बहिनी?” मैले प्रश्न गरे ।

“कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मी, सुरक्षामा खटिने प्रहरी लगायत सबैलाई उर्जा मिलोस् भनेर देशैभरी दिपावली गरौँ भन्दै म्यासेज आएको छ नि । हजुरलाई आएन ?” बहिनीले मलाई म्यासेज फरवार्ड गरिन ।

अहो, के भएको हामीलाई ? म छक्क परे । मेरो म्यासेन्जरमा पनि साँझ ७ बजेर ७ मिनेटमा घरघरमा दिपावली गर्नुहोला भन्दै १०–१२ वटा फर्वाडेड सन्देस आएका रहेछन् । नेपालले कोरोना बिरूद्ध लड्ने नयाँ जुक्ति पो पत्ता लगायो कि भन्ने भान पनि भयो । गुगल सर्च गरे । चैत्र शुक्ल चतुर्दशी रवि प्रदोस परेको, चन्द्रमा सिंह राशिमा प्रवेश गर्ने, रविवारको दिन सुर्यको दिन हो र असाध्यै शुभ आरोग्य पवित्र छ भन्दै ७ बजेर ७ मिनेट देखि ९ बजेर ९ मिनेटसम्म दिपावली गरौँ भन्दै जताततै सन्देश अएको रहेछ । झट्ट सुन्दा ठ्याक्कै भारतमा नरेन्द्र मेदीको ९ बजेबाट ९ मिनेटसम्म बत्ति बन्द गरेर दियो बालौँ भन्ने शन्देशसँग मिल्ने खालको । तर यहाँ भने कोरोनालाई जित्न वा कोरोना बिरुद्ध लड्न दिपावली गरिने भन्ने खालको कुनै कुरा उल्लेख भएको थिएन । कसैले यो सन्देश बनायो र म्यासेज फरवार्ड हुदैगर्दा यसको अर्थ बाङ्गीन पुग्यो । धेरैलाई लाग्यो यसो गरे कोरोनाबाट उन्मुक्ती पाईन्छ । कसैले यो विश्व शान्तीको लागि हो भन्ने बुझ्यो । कसैले केरोनाको कारण ज्यान गुमाएकाहरूको आत्माको शान्तीको लागि भन्ने बुझ्यो । कुरो जे भएपनि मनको शान्तीको हो, बाल्न चाहानेलाई रोक्न पनि सकिदैन ।

अनि सोचे, भारतमा ९ बजेर ९ मिनेटसम्म बत्ति बन्द गर भन्नुको पछाडी पनि त केहि लजिक होला नि ।

त्यो सुचनाको बारेमा पनि मैले गुगल गरे । तर त्यसको पछाडी मैले खासै कुनै लजिक भेटिन । नरेन्द्र मोदीले कोभिड १९ ले विश्वमा ल्याएको अन्धकार बिरुद्ध बत्ति निभाएर दियो, मैन बत्ती वा मोबाईलको फ्ल्यास लाईट बाल्न अनुरोध गर्दै देशैभरि साँझ ‘९ बजे ९ मिनेट’ भन्ने अभियान सुरु गरेका रहेछन् । तर यसले गर्दा पुरै राष्ट्रको बिजुली खपतमा ठुलो गिरावट आउने भएपछि पछि हट्दै केवल घरको बत्ती मात्र निभाउन र अन्य बिद्युतिय सामाग्रीहरुको नियमित प्रयोग गर्न पुनः आग्रह गरिएको रहेछ ।

“बहिनी, घरमा नै बस्नु । तिमीलाई तिहारको जस्तो झिलिमिलि गर्नु भनेको होईन नि । बाल्नै मन लाग्यो भने घरभित्रकै मन्दिरमा दियो बाल्नु, अगरबत्ति बाल्नु । घर भरि नै झिलिमिली पार्नु भनेको होर्इन नि ।” मैले बहिनीलाई सम्झाउदै बाहिर ननिस्कन आग्रह गरे । धेरैलाई भ्रम परेको हुनसक्छ ।

“त्यो त दाई म सधै गर्छु नि ।” उनी घरबाट बाहिर ननिस्कने भईन् ।

जताततै अहिले कोरोनाको त्रास छ । यो भाईरसबाट सबै उन्मुक्ति चाहान्छन् । यसैलाई अवसर मानेर अनेक भ्रामक सन्देशहरु फैलाउने कामहरु पनि भईरहेका छन् । नेपालमा भारतको सिको गर्ने लहर नै चलेको छ । तर सिको राम्रो कुराको गर्ने हो । जुन एक्सपेरिमेन्टले भारत एक पटक पुर्ण रुपमा फेल भईसकेको छ त्यो एक्सपेरिमेन्ट नेपालमा गर्दा नेपालले कोरोना बिरुद्ध जित निकाल्छ भन्ने होईन । दिपावली गर्नु आस्था हो, विश्वास हो । यो अभ्यासको बिरोध गर्दिन । यसलाई सकरात्मक तरिकाले लिने हो भने एक हिसाबले सबै नेपालीलाई एक सुत्रमा बाध्ने जुक्तीको रुपमा लिन सकिन्छ । तर भ्रामक सन्देशले लामो समय भलो गर्दैन ।

कोरोना बिरुद्ध लड्न हामीलाई अस्त्र चाहीन्छ । तर हामीसँग कोरोनासँग लड्ने अस्त्र पर्याप्त छैन । कोरोनाको पहिलो संक्रमण देखिएको २ महिना कटिसक्यो अझै पनि प्रदेशिक तहमा ल्याब स्थापनाको काम पुरा भईसकेको छैन । मास्क अभाव छ । चिकित्सक, नर्स र प्राविधिक लगायतका स्वास्थ्यकर्मीहरुले सुरक्षाका उपकरण एवम् सामाग्रीहरू पाएका छैनन् तर जनप्रतिनिधी र स्वःघोषीत अभियान्ताहरु यसको दुरुपयोग गरिरहेका छन् । अस्पतालले ज्वरोको बिरामी लिन मानेन भनेर समाचारहरु बनिरहेका छन् । कोरोना टेस्टिङ्ग किट हामीसँग पर्याप्त छैन । भेन्टिलेटरको समेत अभाव छ । राजनितिक दलहरु यो समय एक भएर काम गर्नुपर्नेमा झन् एकअर्काको खुट्टा तानिरहेका छन् । संक्रमणको हिसावले नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तो संवेदनशील समयमा हामी अझ बढि जिम्मेवार हुनुपर्नेमा धेरै लापरवाही गरिरहेका छौँ । त्यसमाथी अनावश्यक कुरामा भारतको सिको गर्न खोज्दा हामी कतै ठुलै दुर्घटनामा पो फस्ने हो कि भन्ने डर अर्कोतिर छ ।

भारतमा ताली वा घण्टी बजाउने कार्यक्रम राख्दा त्यहाँ ४९९ जनामा मात्र कोरोना संक्रमन देखिएको थियो । त्यसपछिको १४ दिनमा आज त्यहाँ ३५८८ जना भन्दा धेरै संक्रमित देखिएका छन् र ९९ जनाले ज्यान गुमाइसकेका छन् । भारतले जे गर्छ त्यो हामीले पनि दोहोर्याउनै पर्छ भन्ने छ र रु भारतमा गौमुत्र पार्टी पनि भएको थियो । के अब हामीले गौमुत्र पार्टीको आयोजना गर्ने रु यदि भारतको सिको नै गर्ने हो भने हामीले पनि भारतको जस्तै कोरोना बिरुद्ध लड्न राज्यको कोषमा मन खोलेर सहयोग गरौँ । भारतका चिकित्सा बैज्ञानिकहरुले आफैले कोरोना टेस्टिङ्ग किट बनाई सकेका छन् । हामीले पनि हाम्रो देशका चिकित्सा बैज्ञानीकहरुलाई प्रोत्सहान गरौँ । खान नपाएर छटपटाइ रहेका धेरै छन्, उनीहरूलाई खाना दिएर सहयोग गरौँ । केही युवाहरू कोरेनासँग कसरी लड्न सकिएला भनेर नविनतम अभ्यास गरिरहेका छन्, उनीहरूलाई हौसला प्रदान गरौँ । केही पनि सकिदैन भने घरमा नै बसौँ र अरूलाई पनि सुरक्षीत रहन अग्रह गरौँ ।

थपडी बजाएर वा दिपावली गरेर महामारीलाई जित्न सकिदैन । र पनि विश्वासको कुरा हो, म यसरी नै कोरोनालाई जित्छु भन्ने लाग्छ भने तपाई को विश्वासले तपाई अझै बहादुर बनाउन सक्छ । तर यसो भन्दैमा यसलाई उत्सब जस्तो घरबाट बाहिर निस्केर, भिडमा गएर, सुरक्षाका उपाय नै नअपनाई लाई र अन्धविश्वसी बनेर अरूलाई समेत जेखिममा पार्ने काम गर्नुहुन्छ भने तपाई ठुलो गल्ति गर्दै हुनुहुन्छ । कृपया बेलामा नै सचेत बनौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>