Breaking News
सरकारले भन्यौंः ‘हामी कोरोनाको दोस्रो स्टेजमा पुग्यौं, सतर्क रहौं’

काठमाडौं, चैत २२–
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपाल दोस्रो स्टेजमा प्रवेश गरेको भन्दै सतर्क रहन आह्वान गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पहिलोपटक नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै दोस्रो स्टेजमा प्रवेश गरेकाले अझै सतर्क रहन आग्रह गरे । उनले भने–‘अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा मात्रै कोरोना संक्रमण देखिएको थियो, अब स्थानीय नै संक्रमित भइसकेका छन्, पहिले जस्तो अवस्था होइन ।’
स्वास्थ्य मन्त्रालयले आज एकैदिन कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो । जसमध्ये एक महिला आफ्नै देवरबाट कोरोना संक्रमित भएका छन् । उनका देवर विदेशबाट आउँदा कोरोना संक्रमित भएका थिए । यस्तै अन्य दुई पुरुष भारतबाट आएका थिए । उनीहरु तीनै जनालाई अस्पताल भर्ना गरिएको छ । यस्तै स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म ८ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् भने एक जना सुरुमै निको भए,र फर्किएका छन् ।
प्रवक्ता देवकोटाले सातै प्रदेशबाट कोरोनाको परीक्षण चलिरहेको भन्दै चितवनमा कोरोना परीक्षणका लागि ल्याब अन्तिम चरणमा रहेको जानकारी दिए । उनले भोलि (आइतबार)देखि चितवनमा समेत कोरोना परीक्षण गरिने जानकारी दिए ।
























