Breaking News

जापानमा कोरोनाबाट नेपालीहरु कत्तिको सुरक्षित ?

Banner

माधव अधिकारी,

४ अप्रिल, क्योतो ।

“काममा तेन्च्योलाई बिदा दे भन्यो भने तेरो काम कस्ले गर्छ, किकाम छोड़ भन्छ । काम छोडेर सेल्फक्वारेन्टिनमा बसौं भने महिनाको १० मान कसले दिन्छ ? एन.आर.एन. ए.ले केहीगर्ला नि भन्यो भने आफै आर्थिक संकलनमा लागेको छ । क्रेडिट कार्डदेखी खाई मोनो गरेर यो महिना काम चलाऊ भने अर्को महिना कसले तिरी दिन्छ ? नेपालदेखी मगाऊ भने बैंकको किस्ता बाँकी भएर फोन आको छ रे घरमा, के गर्नु ज्यानसँग पैसा साट्नु परेको छ” नेपाली इन जापान फेसबुक पेजमा जापानमा कोरोना भाइरसको संक्रमणबाट बच्न के–कस्ता सुरक्षाका उपाय अपनाउनु भएको छ भनेर राखिएको स्टाटसमा कन्फेसन अफ नेप्लीज इन जापान नामक फेसबुक पेजबाट आएको कमेन्ट हो यो । जसमा तेन्च्योले म्यानेजर र खाइमोनोले सपिङ्ग भन्ने अर्थ दिन्छ ।

यस्तै सोही फेसबुक पेजमा सेयर गरिएको कोरोना भाइरसका कारण आय घटेका घर परिवारलाई ३ लाख येन दिइने भन्ने समाचारमा बिनिता कायस्थ लेख्छिन् –“हाम्रा लागि घाऊमा नुन चुक दल्नु बराबर को न्यूज… अन्तिममा कतै अष्ट्रेलियन सरकारले जस्तै यहाँ पिडामा रहेकाहरु आ–आफ्नो देश फर्किन सक्छौ भन्ने न्यूज त आउने हैन ?”

यी त केहि प्रतिनिधि प्रतिक्रिया मात्र हुन् । यस्ता पिडाहरु जापानमा अवस्थीत नेपालीहरुमा कत्ति छन् कत्ति । करिब १ लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको क्षेत्र हो जापान । तीमध्ये एक चौथाइ विद्यार्थी भिसाबाट अध्ययन पुरा गरेर प्रक्रियागत तवरबाट बसेका, केही भान्से काममा दक्ष व्यक्ति (कुक) र केही उच्च शिप भएका प्राविधिकहरु रहेका छन् । एकाध बाहेक अधिकांश नेपालीहरुको विदेशिने चाहना भनेको धन कमाउनकै लागि हुन्छ । विद्यार्थी भिसामा आएकाहरु पनि दक्ष सिप हासिल गर्नकै लागि आएको भन्ने मनसाय राख्नेहरु गन्न सकिने संख्यामा होलान् । बेरोजगारी, कमजोर अर्थतन्त्र, आधारहिन शिक्षा र विश्वासीलो बन्न नसकेको राजनैतिक संयन्त्रबाट दिक्क भएर जापान आएका नेपालीहरु सिमित समयावधिको भिसामा कमाउनकै लागि मरिमेट्ने गर्छन् । तर यो समय नेपालीहरुको यहि बानीबाट नेपालीहरु आफै असुरक्षीत हुदै गइरहेका छन् ।

व्यस्त राजमार्ग, बजार क्षेत्र, रेल र बसमा यात्रा गरेर काममा जानुपर्ने हुँदा नेपालीहरु पनि कोरोना संक्रमणको अत्यन्तै जोखिममा छन् । विभिन्न देशका नागरिकहरुसँगको भेटघाट, काममा सहकार्य, जुनसुकै ठाउँमा निस्फिक्रि आवतजावत लगायतले नेपालीहरु अझ बढी असुरक्षीत छन् भन्ने दर्शाउछ । “सरकारले लकडाउन नै गरे बरु बस्न हुन्थ्यो, न काम छोड्न सकिन्छ न निर्धक्क भएर काम गर्न सकिन्छ” क्योतोमा मास्टर्स इन आइटी अध्यनरत स्याङ्जाका दिपक अर्यालले भने ।

जापानमा टोकीयो, ओसाका, चिबा, होक्काइदो, आइची, खानागावा, ह्योगो लगायतकाप्रान्तमा सबैभन्दा बढी कोरोना संक्रमितहरु भेटिएका छन् । जहाँबाट आजसम्म सजिलै मानिसहरु अन्य स्थानहरुमा आवतजावत गरिरहेका छन् ।

शुक्रबार जापानको इबाराकी केनमा पहिलोपटक एक जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालीहरु अलि बढी सचेत हुनुपर्ने जरुरी देखिएको छ । विषम् परिस्थीति बाहेक अर्थतन्त्रलाई प्रभाव पार्ने कारण देखाउदै जापान सरकारले तत्कालै लक डाउन नगर्ने निर्णय गरिसकेको छ । सरकारले लकडाउन गर्ला र बसौँला भन्ने, निरन्तर बस, रेलमा यात्रा गरिरहने र कामबाट विदा नबस्ने हो भने एकातर्फ हामी कोरोना संक्रमणबाट बच्न सकिने अवस्था नै छैन भने अर्कोतर्फ कोरोना संक्रमण भएमा वा सानो लक्षण देखिएर स्वास्थ्य जाँच गराउनु परेमा पनि त्यत्ति सजिलो छैन । यसैले अहिलेको परिप्रेक्षमा सेल्फ क्वारेन्टिनमा बस्नुनै उत्तम विकल्प हो ।

वल्र्डवो मिटर्सको तथ्यांकलाई आधार मान्ने हो भने विश्वभर लगभग ११ लाख मानिसहरु कोरोनाको संक्रमणमा परिसकेका छन । शनिबार बिहानसम्म जापानमा मात्रै २६१७ संक्रमित र ६३ जनाको मृत्य भएको तथ्यांक वल्र्डवो मिटर्सले सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>