Breaking News
भरतपुरको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण ल्याब स्थापना गरिने

चितवन, चैत २०–
सरकारले सातै प्रदेशको राजधानी पश्चात चितवनको भरतपुरमा कोरोना भाइरस (कोभिड–१९)को नमुना परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गर्ने भएको छ । भरतपुर महानगरपालिकाले कोरोना परीक्षणका लागि ल्याब निर्माण गर्न अग्रसरता लिएपछि सरकारले कोरोना परीक्षणका लागि ल्याब संचालनमा ल्याउन लागेको हो ।

आज स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला र राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरको निरीक्षण गरेको थियो । प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनाल, प्रा.डा. गिरिराज त्रिपाठी, भाइरोलोजिष्ट विमलेश झा र सुलभ आचार्य रहेका थिए ।
प्राविधिक टिमले छलफल पश्चात राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुर नै उपयुक्त हुने निश्कर्ष निकालेपछि आरटी पीसीआरसहितको कोरोना भाइरस (कोभिड–१९)को नमुना परीक्षण प्रयोगशाला (ल्याब) सोही स्थानमा स्थापना गर्ने निर्णय भएको ल्याब स्थापनाका लािग गठित उपसमितिका संयोजक कृष्णसागर शर्माले नारायणी अनलाइनलाई जानकारी दिए ।
उनका अनुसार तत्कालका लागि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिनलाई प्रयोगमा ल्याइने छ । यस्तै अन्य उपकरण र जनशक्ति तयार पारेर छिट्टै ल्याब संचालनमा ल्याइने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणी अनलाइनलाई जानकारी दिइन् ।
























