अर्थ
आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्छ- अर्थमन्त्री

काठमाडौं,चैत १९-
सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ । कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन ।
हालको अवस्था हेर्दा १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने देखिएको बताउदै उनले भने ‘छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशत घट्ने देखिन्छ । लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला ।’
‘यो त प्रारम्भिक अनुमान मात्र हो । सबै कुरा अहिले नै प्रक्षेपण गर्न कठिन छ’ उनले भने ‘यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभों जाँदैछ ।’
लकडाउन गरेको र सीमा बन्दको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गएको अर्थमन्त्री खतिवडाले बताए । विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ महिना खेर जाने अवस्था आएकाले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा नहुने देखिएको उनको भनाइ छ ।
























