Breaking News
नेपालमा तेस्रो संक्रमित यु्वक दुबईबाट चैत ६ गते फर्केका थिए

काठमाडौँ,चैत १२–
संक्रमण पुष्टि भएका तेस्रो नेपाली चैत ६ गते दुवईबाट फर्केर काठमाडौँको होटलमा बसेका थिए। ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते उनी परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। टेकु अस्पतालमा परीक्षण गराई उनी फेरि होटलमा गएर बसेका थिए।
आफूमा संक्रमण रहेको पुष्टि भएको जानकारीसँगै उनी मंगलबार बेलुका टेकु अस्पतालमा भर्ना भएका छन्। मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एकजनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे। उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो । चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।
























