चितवन विशेष
भरतपुरको कृष्णपुरमा ८१ जनाले गरे रक्तदान

चितवन, चैत ८-
कोरोना भाइरसको सम्भावित प्रकोपमा रगतको अभाव हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी आज भरतपुरमा रक्तदान गरिएको छ ।
मिलीजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भरतपुर महानरपालिका–७ कृष्णपुर र नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाको संयुक्त आयोजनामा सो रक्तदान गरिएको हो । कार्यक्रममा ५४ जना पुरुष र २७ जना महिला गरी ८१ जनाले रक्क्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले संकटको यस्तो अवस्थामा रगतदान गरेर मानिसलाई नयाँ जीवन दिने काम आफैँमा महान भएको बताए । कार्यक्रममा भरतपुर महानरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले यस्ता महान कार्यले सबैलाई उर्जा थप्ने भन्दै रगत दिएर नमरिने तर रगत नपाएर मरिने हुदाँ रक्तदान प्रति युवालाई प्रोत्साहन गर्नुपर्ने विचार राखे । त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाका सभापति कृष्ण ढकालले मानवलाई नयाँ जीवन दिने यस्ता पूर्ण कार्यमा सहकारी लागेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा मिलीजुली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामजी पौडेलले सहकारीले वार्षिकोत्सवमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले संस्था स्थापनाको २२ आंै स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रमले धेरैलाई पुनर्जीवन दिने बताए ।