Breaking News

कोरोना भाइरससँग तर्सनु पर्दैन, मृत्युसँग डराउनु हुँदैन

Banner

–मोहनविक्रम सिंह

अहिले विश्वव्यापी रूपमा नै कोरोना (कोभिड–१९) भाइरसको आतंक फैलिएको छ । त्यसको अहिलेसम्म कुनै औषधि पनि फेला परेको छैन । त्यसले गर्दा त्यसको खतराको गम्भीरता अरू बढेर गएको छ । तर, त्यो खतराबाट तर्सनु पर्ने कुनै आवश्यकता छैन । किनभने त्यो खतरालाई विश्वव्यापी प्रकारका खतराहरूको ऐतिहासिक पृष्ठभूमिमा हेर्ने हो भने त्यो सामान्य र गौण महत्वको कुरा बन्न जान्छ ।

जीवन सधैँ मृत्युसँग जोडिएको हुन्छ र प्रत्येक पाइलामा त्यससित जुध्दै जीवन अगाडि बढ्छ । मृत्यु यस्तो चीज हो, जो प्रत्येक मानिसको जीवनमा स्वाभाविक र अनिवार्य हुन्छ र खाली यत्ति हो कि त्यो कहिले आउँछ भन्ने कुरा हामीलाई थाहा हुँदैन । खाली कैयौँ महामारीका बेलामा मात्र होइन, संसारमा प्रत्येक दिन हजारौँ, लाखौँ मानिसहरूको मृत्यु भइरहेको हुन्छ । मसानघाटमा जानुस् सधैँ कैयौँ लाशहरू जलिरहेका हुन्छन् । त्यसैले हामीहरू कहिल्यै पनि मृत्युसित डराउनु हुँदैन ।

कुनै रोगबाट बच्नको लागि हामीले सधैँ कोसिस गरिरहनु पर्दछ । त्यही कुरा कोराना भाइरसको सन्दर्भमा पनि सत्य हो । हामीले मृत्युबाट बच्नको लागि सधैँ कोसिस गर्नुपर्छ, यो जान्दा जान्दै पनि कि अन्तमा त्यो हाम्रो जीवनमा अनिवार्य छ । यस प्रकारको मानसिकता वा आत्मबलबाट नै हामीले कोरोना भाइरसमात्र होइन, सबै प्रकारका रोग, मृत्यु वा महामारीको पनि आतंकबाट माथि उठ्न सक्छौँ र उठ्नु पनि पर्दछ । यस प्रकारको मानसिकता वा आत्मबल नै कोरोना भाइरस वा मृत्युमाथि विजय प्राप्त गर्नका लागि सबैभन्दा अचुक औषधि वा अजय हतियार पनि हो ।

कोरोना भाइरस चीनबाट सुरु भयो र त्यहाँ त्यसबाट करिब चार हजार मानिसको मृत्यु भयो र त्यो कारणले विश्वव्यापी आतंक फैलियो । तर, त्यो संख्या कुनै ठूलो संख्या होइन । चीनमा विभिन्न रोग, प्राकृतिक दुर्घटनालगायत कारणबाट लाखौँ मानिसहरूको मृत्यु हुँदै आएको छ । तर, त्यो कारणले विश्वमा कुनै आतंक फैलिदैन । त्यसबाट के प्रष्ट हुन्छ भने, कोरोना भाइरसका कारणले मृत्यु भएका मानिसको संख्याभन्दा त्यो कारणले मनोवैज्ञानिक रूपले मानिसमा पैदा भएको भयका कारणले नै बढी आतंक फैलिएको हो ।

चीनमा बेग्ला बैग्लै समयमा विभिन्न प्राकृतिक दुर्घटना वा रोगका कारणले अहिले कोरोना भाइरसको कारणलेभन्दा कैयौँ गुणा मानिसहरूको मृत्यु हुने गरेको छ । चीनमा सन् १९०७ देखि १९११ को अनिकालमा दुई करोड पचास लाख, सन् १९२० को भूकम्पका कारण दुई लाख ७३ हजार४००, सन् १९३५ मा बाढीका कारण एक लाख ४५ हजार सन् २००८ मा भूकम्पका कारण ८७ हजार ५८७, १९५८–१९६३ को अनिकालमा ४३ लाख मानिसहरूको मृत्यु भएको थियो । तिनीहरूको तुलनामा अहिले कोरोना भाइरसद्वारा मृत्यु भएको करिब चार हजार संख्या एकदम सामान्य र नगण्य हो ।

संसारका अन्य भागहरूमा पनि विभिन्न प्राकृतिक दुर्घटना, रोग व्याधी वा महामारीका कारणले ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको पाइन्छ । सन् १९१० को भूकम्पका कारण हैटीमा तीन लाख १६ हजार, सन् २००५ मा भूकम्पका कारण भारत र पाकिस्तानमा गरी ८७ हजार, सन् २००८ को सुनामीका कारण म्यानमारमा एक लाख ३८ हजार, इटालीमा १९०८ मा भूकम्पकै कारण एक लाख २३ हजार, १७६९देखि १७७३सम्म भारतमा अनिकालद्वारा १० लाख मानिसहरू मृत्यु भएको थियो ।

लुका कारणले अमेरिकामा १९०१ मा नौ हजार ५०० र रूसमा २०१० मा ५६ हजार मानिसहरू मरेका थिए । सन् १८१७ देखि १८२३ को बीचमा हैजाद्वारा वार्षिक २१ हजारदेखि एक लाख ४३ हजार जना, सन् १९९८ देखि १९९९ सम्म एक वर्षसम्म चलेको स्पेनिस फ्लु, कारण विश्वमा पाँच करोड, सन् १९८१देखि हालसम्म एचआईभी एड्सका कारण तीन करोड २० लाख, सन् १९०० देखि १९८० का बीचमा बिफरद्वारा ३० करोड, सन् १३३२ देखि १८२० का बीचमा कालो मृत्युद्वारा १० करोड मानिसको मृत्यु भएको थियो ।

माथिको संक्षिप्त विवरणबाट थाहा हुन्छ विभिन्न रूपमा मृत्युले संसारमा सधैँ आक्रमण गर्दै आएको छ । अहिले कोरोना भाइरसको कारणले संसारमा मृत्यु हुने व्यक्तिको संख्या करिब सात हजार पुगेको बताइन्छ । त्यो संख्याभन्दा त्यसको भयानकता यो कुरामा छ कि त्यो तीव्र गतिले विश्वमा फैलिरहेको छ र त्यसरी आउने दिनहरूमा त्यो संख्या कैयौँ गुणा बढी पनि हुन सक्छ । तर, संसारमा अहिलेसम्म विभिन्न प्राकृतिक घटना वा रोग व्याधिका कारणले मानिसको जुन ठूलो परिमाणमा मृत्यु हुने गरेको छ, त्यसको तुलनामा कोरोना भाइरसको कारणले भएको मृत्यु वा आउने दिनमा त्यो कारणले हुने मृत्युको संख्या सामान्य हो ।

कोरोना भाइरस सर्वप्रथम चीनबाट सुरु भयो । तर, अब त्यहाँ त्यसमाथि नियन्त्रण हुँदै गइरहेको छ । वैज्ञानिकले त्यसको नियन्त्रणका लागि पनि औषधिको आविष्कार गर्ने प्रयत्न गरिरहेका छन् । हामीले आशा गर्न सक्छौँ कि आउने दिनमा छिट्टै त्यसमाथि नियन्त्रण हुनेछ । त्यसैले त्यो रोगबाट धेरै नै भयभित हुनुपर्ने आवश्यकता छैन । तैपनि जुनबेला कुनै रोग देखापर्छ वा परिवारमा एकजना पनि व्यक्तिको मृत्यु हुन्छ, त्यो धेरै नै दुःख र पीडाको विषय हुन्छ । त्यसैले अहिले विश्वमा कोरोना भाइरस जसरी सक्रमण हुँदै गइरहेको छ, कैयौँ देशमा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुँदै गइरहेको छ, त्यसलाई उपेक्षा गर्न पनि मिल्दैन र त्यसमाथि नियन्त्रणको लागि पूरा प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

कसैको व्यक्तिगत दुःख होस्, प्राकृतिक वा कुनै रोगका कारणले पैदा हुने गम्भीर स्थिति होस् वा कोरोना भाइरस जस्ता रोगका कारणले विश्वव्यापी रूपमा फैलने आतंकको कुरा होस्, तत्कालका लागि तिनीहरू जतिसुकै गम्भीर र भयानक भए पनि समय बित्नुका साथै स्थिति सामान्य हुँदै जान्छ र जीवन पुनः स्वाभाविक प्रकारले अगाडि बढ्न थाल्दछ । घरमा कुनै प्रियजनको मृत्युले कसैलाई कति धेरै दुःख र पीडा पुग्छ त्यो थाहा भएको कुरा हो । तर, समय बित्नुका साथै मानिसले त्यो दुःख र पीडा भुल्दछन् र उनीहरू फेरि हाँसेर बाच्न थाल्छन् । संसारका ठूलाठूला दुर्घटना वा रोगका कारणले लाखौँ करोडौँ मान्छे मरे पनि त्यसले दिएको दुःख र पीडा सधैँ रहन्न ।

खाली ठूलाठूला दुर्घटना वा ठूलाठूला रोग व्याधिका कारणले मात्र होइन, सामान्य रूपमा पनि दिनदिनै लाखौँ मानिसको मृत्यु भइरहेको हुन्छ । विभिन्न रोग, दुर्घटनालगायतका कारणले मानिसको मृत्यु हुने गर्छ । रुघा, खोकी, इन्फ्लुएन्जा, ज्वरो, टिभीलगायत विभिन्न कारणले दिनदिनै ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको हुन्छ । त्यसरी यो भन्न सकिन्छ । मृत्यु एउटा प्राकृतिक, स्वाभाविक र अनिवार्य कुरा हो र संसारमा कोही पनि त्यसबाट बच्न सक्दैन । स्वयम् मानिसको पारस्परिक व्यवहारका कारणले पनि ठूलो संख्यामा मानिसको मृत्यु हुने गर्छ । दिनदिनै मानिसले विभिन्न कारणले मानिसको हत्या गरिरहेका समाचार आइरहन्छन् । युद्धद्वारा पनि ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको हुन्छ । प्रथम र दोस्रो विश्वयुद्धमा करोडौँ मानिसको मृत्यु भयो । ती युद्धहरू बाहेक मानव जातिको इतिहासमा अरू पनि हजारौँ युद्धहरू हुने गरेका असंख्य उदाहरणहरू छन् । हामीले कोरोना भाइरसको विश्वव्यापी संक्रामक रूप र त्यसबाट हुने गरेका मृत्युलाई पनि त्यही प्रकारको विश्वव्यापी र ऐतिहासिक पृष्ठभूमिमा नै बुझ्ने प्रयत्न गर्नुपर्छ । चीजलाई त्यसरी हेरेपछि त्यसबाट हामीमा पैदा हुने भय र आतंकको भावना एकदम समाप्त हुनेछ र हामीले त्यसलाई दृढतापूर्वक र स्थिर भएर सामना गर्न सक्ने छौँ । नत्र भने कोरोना भाइरसले हामीलाई मार्नुभन्दा पहिले त्यस प्रकारको भयले नै हामीलाई मारिसक्ने छ ।

कुनै पनि कठिनभन्दा कठिन वा ठूलोभन्दा ठूलो दुःख वा खतरालाई हामीले वर्तमान सन्दर्भमा मात्र हेर्ने प्रयत्न ग¥यौँ भने त्यसले हामीलाई वास्तविक रूपमाभन्दा कैयौँ गुणा बढी दुःखित वा आतंकित बनाउँछ । हामीले त्यस प्रकारको कुनै दुःख वा खतरालाई एकातिर अतित र अर्कातिर भविष्यको सन्दर्भमा हेर्ने र बुझ्ने प्रयत्न गर्नुपर्छ । त्यसको अर्थ यो हो, कुनै दुःख वा विपत प¥यो भने हामीले के सोच्नु पर्छ भने, मानिसलाई व्यक्तिगत रूपमा र वर्तमान समयमा जे जति दुःख र आपतहरू पर्छन्, सामाजिक, ऐतिहासिक र विश्वव्यापी रूपमा पनि मानिसलाई त्योभन्दा कैयौँ ठूलठूला आपत वा बिपत परेका थिए भन्ने कुरा थाहा भएपछि तात्कालिक रूपमा व्यक्तिगत रूपमा मात्र होइन, कोरोना भाइरस जस्ता ठूलठूला महामारी पनि हाम्रा लागि सामान्य र हलुका हुन जान्छन् ।

नेपालकै कुरा गरौँ हाम्रो देशमा कुन बेला कुन प्रकारका प्राकृतिक दुर्घटना वा रोग व्याधीका कारणले कति मानिस मरेका थिए भन्ने तथ्यांक हामीसित अत्यन्तै कम मात्रामा उपलब्ध छन् । तैपनि विभिन्न प्राकृतिक घटना, भूकम्प, बाढी पहिरो, विभिन्न प्रकारका आन्दोलनका कारणले पनि नेपालमा ठूलो संख्यामा मानिसहरू मर्ने गरेका छन् । त्यो बाहेक विभिन्न रोग दुर्घटना वा आपसमा झगडा वा विभिन्न प्रकारका अपराधजन्य कारबाहीका कारणले पनि ठूलो संख्यामा मानिसको मृत्यु हुने गरेको हुन्छ । एक प्रकारले त्यो हाम्रो दिनदिनैको स्वभाविक कुरा हुन्छ । प्रत्येक पिढीका मानिसको केही समयपछि निश्चित रूपले मृत्यु हुन्छ । ती हामीले दिनदिनै देख्ने वा भोग्ने गरेका कुराहरू हुन् । व्यक्तिगतरूपमा वा राष्ट्रियरूपमा घट्ने त्यस प्रकारका घटनाले त्यो बेला हामीलाई निकै दुःख पु¥याउँछन् । तर, समय बित्दै गएपछि हामीले त्यस प्रकारका घटना वा दुःखलाई बिर्सदै जान्छौँ ।

समय बितेपछि मात्र होइन, तत्काल पनि हामीले समयभन्दामाथि उठेर त्यस प्रकारका तात्कालिक घटना वा दुःखबारे विचार गर्न सक्नुपर्छ । त्यो अवस्थामा तात्कालिक रूपमा पनि त्यस प्रकारका घटना वा आपत विपतबाट पैदा हुने दुःखबाट हामीहरू बच्न सक्छौँ । मानवीय स्वभावमा स्वभावतः कैयौँ कमजोरीहरू हुन्छन् । तैपनि तात्कालिक रूपमा पनि तिनीबाटमाथि उठेर विचार गर्न सक्यौँ भने त्यस प्रकारका आपत विपतबाट पैदा हुने दुःखलाई हामीले धेरै नै कम गर्न सक्छौँ । हाम्रा अगाडि अरू विकल्प पनि छैन । कुनै दुर्घटना घटिसकेपछि वा कसैको मृत्यु नै भइसकेपछि पनि त्यसबाट बच्नको लागि कुनै विकल्प हुँदैन । त्यसकारण कुनै पनि अप्रिय घटनाबाट पैदा हुने दुःखलाई हामीले बिर्सनै पर्दछ । तर, समस्या के हो भने कुनै आपत विपत परेपछि वा कुनै घटना घटेपछि कुनै क्षति पुग्नुभन्दा पहिले नै, भविष्यमा कुनै क्षतिपुग्ने आशंकाले हामीहरू आतंकित वा दुःखित हुन थाल्छौँ । त्यही कुरा अहिले कोरोना भाइरसको सन्दर्भमा पनि भइरहेको छ ।

कोरोना भाइरसले चीनमा ठूलो क्षति पु¥यायो । अब त्यहाँ त्यसको असर केही कम भएको छ । तर, त्यसको केन्द्र युरोप भएको छ । इटली, स्पेन र फ्रान्समा त्यसको गति तीव्र भएको छ । दिनदिनै सयौँको संख्यामा मानिसको मृत्यु भइरहेको छ । भारतमा पनि त्यसको संक्रमण भइसकेको छ । दक्षिण कोरिया, जापानलगायत देशमा पनि त्यसको संक्रमण भइसकेको छ । तर, नेपाल अहिलेसम्म त्यसको संक्रमणबाट बचेको छ वा ‘बचेको छ भन्न सकिन्छ’, किनभने कतिपय मानिसमा त्यसको संक्रमण भएको भए पनि पत्ता नलागेको हुन सक्छ ।

अहिले नेपालमा कोरोना भाइरसको संक्रमण भइनसकोको भए पनि विश्वव्यापी रूपमा भएको त्यसको संक्रमण र मानिसको मृत्युको कारणले नेपालमा एक प्रकारको आतंकको स्थिति उत्पन्न भएको छ । वास्तवमा यो कुनै दुर्घटना हुनुभन्दा पहिले त्यसको आशंकाले भयभित हुनु नै हो । जब कि कुनै घटना घटेर त्यसले क्षति पु¥याइसकेपछि पनि हामीले उच्च प्रकारको मानसिकता वा आत्मबलद्वारा त्यो दुःखमाथि विजय प्राप्त गर्ने प्रयत्न गर्नुपर्दछ भने त्यो आपत आउनुभन्दा पहिले नै आतंकित हुनु वनको बाघले खानुभन्दा पहिले मनको बाघले खाएर जिउँदै मर्नु जस्तै हो । कुनै आपत आउनुभन्दा पहिले पनि त्यसलाई रोक्नका लागि पूरा तयारी गर्नुपर्छ । तर, हामीहरू पहिले नै आतंकित हुन थाल्यौँ भने कुनै विपद्लाई रोक्नका लागि आवश्यक तयारी पनि राम्ररी हुन पाउँदैन ।

यो सत्य हो कि हाम्रा अगाडि कोरोना भाइरसको खतरा मुख बाएर उभिएको छ । त्यो स्थितिको सामना गर्नको लागि आज सारा देश, जनता सबै राजनीतिक पार्टी, संघसंस्था र सरकार समेत एक भएर उभिनु पर्ने आवश्यकता छ । संसारका विकसित र साधनस्रोत सम्पन्न देशमा पनि त्यसको संक्रमणलाई रोक्न मुस्किल परेको छ भने नेपालमा त्यसको संक्रमण भयो भने स्थिति कस्तो होला ? अस्पताल, औषधि–उपचार र आधुनिक साधनको अत्यन्त कमी भएको हाम्रो देशमा कोरोना भाइरसको संक्रमण भयो भने त्यसले कति बिकराल र भयानक रूप लेला ? अनुमान गर्न पनि सजिलो छैन । त्यसका साथै प्रशासनको अत्यन्त गैर जिम्मेवार कार्यप्रणाली र भ्रष्टाचार तथा कालोबजारी समेतका कारणले त्यो कोरोना भाइरसले संक्रमणलाई रोक्न धेरैनै मुस्किल पर्ने छ ।

कोरोना भाइरसको हल्ला सुरु भएपछि केही व्यापारीले कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने मास्क, सेनेटाइजर वा ग्याँस, पेट्रोलियम, खाद्यान्नलगायत सामग्रीहरू लुकाउन थालेका समाचार प्राप्त भइरहेका छन् । देशमा संकट पैदा हुन थालेको बेलामा त्यसबाट जनतालाई बचाउन सबैले बढीभन्दा बढी योगदान दिन प्रयत्न गर्नुपर्ने ठाउँमा उल्टो कृतिम अभावको स्थिति पैदा गरेर संकटलाई झन् गम्भीर बनाउन प्रयत्न गर्नु साँच्ची कै अत्यन्त अमानवीय र गम्भीर दुःखको कुरा हो । यो कुरा बुझन गाह्रो पर्दैन कि त्यसका पछाडिको उनीको उद्देश्यपछि ती सामानहरू महंगो मूल्यमा बेचेर बढी सम्पती कमाउनु हो । उनीहरूको त्यस प्रकारको सोचाइ, जस्तो किमाथि लेखियो, अमानवियता त हो नै त्यसका साथै देशमा कोरोना भाइरसको महामारी बढ्यो भने त्यो खतरा स्वयम् उनीहरू वा उनीहरूका परिवारमाथि पनि बज्रन सक्ने छ ।

(लेखक सिंह नेकपा मसालका महामन्त्री हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>