Breaking News
कोभिड–१९ : सिनेमा हल, खेलस्थल, जिम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ५-
कोभिड–१९ रोकथामका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।
‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो। यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ । त्यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य तयस्तै कार्यहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला नगर्न आग्रह गरेको छ । सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ ।
























