चितवन विशेष
भरतपुरमा उद्यमशिलता विकास तालिम

चितवन, चैत ५-
उद्योग वाणिज्य संघ–चितवन र देवघाट गाउँपालिका तनहुँको संयुक्तआयोजनामा सञ्चालित उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।
विभिन्न सिप सिकेर उद्यम व्यवसाय गर्न चाहने सहभागीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा मंगलबार ४० जनाको सहभागिता रहेको थियो ।
तनहुँको देवघाट गाउँपालिकाको सभाहलमा आयोजित तीन दिने तालिमको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै देवघाट–५ का वडाध्यक्ष एलबहादुर गुरुङले सिप सिक्नु मात्र उपलब्धि नभई सिकेको ज्ञान र सिपलाई दैनिक व्यवसायिक जीवनमा लागू गर्न अनुरोध गर्दै तालिम सञ्चालन गर्नका लागि सहयोग गर्ने उद्योग वाणिज्य संघ–चितवनप्रति हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा प्रशिक्षक एवम् स्रोत व्यक्ति निलबहादुर केसीले उद्यमशिलता विकासका लागि आफूसँग भएको सिप, साधन र स्थानीयरुपमा उपलब्ध भएको स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउँदै सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको बताए । सोही कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले उद्यम व्यवसायका लागि, सिप, लगानीमात्र नभई दृढ ईच्छा शक्ति हुनुपर्ने बताउँदै सहभागीलाई तालिम सफलताका साथ सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागीको तर्फबाट रस्मी सोती र ईन्द्रा थापाले तालिमबाट सिकेको ज्ञानलाई आफ्नो व्यवसायमा लागू गर्ने जनाउँदै उद्यमशिलता तालिमले आफूलाई मार्गनिर्देशन गरेको बताए । तिन दिनसम्म सञ्चालित उक्त तालिममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक गौरव खतिवडा र कार्यक्रम अधिकृत निलबहादुर केसीले स्रोत व्यक्तिको रुपमा भूमिका निर्वाह गरेका थिए । यही आर्थिक वर्षमा सिप एवम् व्यवस्थापकीय विभिन्न तालिमको आयोजना गरिने देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिए ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय र उद्यमशिलताका सम्बन्धमा कुनै सीमा तथा क्षेत्र नहुने बताउँदै संघका गतिविधिलाई चितवन जिल्ला वरपरका बजार क्षेत्रमा समेत विस्तार गर्ने संघको उद्देश्य बमोजिम तनहुँको देवघाटमा कार्यक्रम सम्पन्न गरिएको बताए । वडा नं. ५ का वडा अध्यक्ष एलबहादुर गुरुङको अध्यक्षता एवम् सामाजिक परिचालक सम्झना खत्रीको सञ्चालनमा कार्यत्रम सम्पन्न भएको थियो ।
























