Breaking News

कोरोना प्रभावः चितवनका व्यवसायीले जनाए कालोबजारी नगर्ने प्रतिवद्धता

Banner

चितवन, चैत ४–

कोरोना भाइरस (कोभिड–१९) ले सशङ्कित बनाइरहेका बेला चितवनका व्यवसायीहरुले कालोबजारी नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा जिल्लाका व्यवसायीहरुले महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा समेत असर गरेको भन्दै यस्तो बेलामा व्यवसायीहरु स्वयम् संयमित हुने र खाद्यान्नलगायत अतिआवश्यक वस्तुमा भयावह अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । छलफलमा सहभागी ग्यास बिक्रेता संघ चितवनका अध्यक्ष विष्णु जोशीले खाना पकाउने एलपी ग्याँसमा कालोबजारी हुन नदिने प्रतिबद्धता जनाए । अहिले जिल्लामा सहज रुपमा ग्याँस आपूर्ति भइरहेको भन्दै अत्तालिनु पर्ने अवस्था नरहेको बताए ।

नारायणी अनलाइनसँग उनले भने, ‘बजारमा ग्याँस अभाव छैन, आपूर्ति सहज छ ।’ अध्यक्ष जोशीले व्यवसायीहरुले नै उपभोक्ताहरुलाई ग्यास आवश्यक मात्रामा खरिद गर्न आग्रह गर्ने बताए । ‘सकेसम्म हामीले नै धेरै ग्यास नराख्नुस् भन्छौँ, आवश्यकता अनुसार मात्रै दिन्छौँ’–अध्यक्ष जोशीले भने । चितवनमा हाल प्रतिमहिना एक लाख सिलिण्ड भित्रिने गरेको छ ।

कोरानाका कारण बजारमा कृतिम अभाव सुरु हुन थालेपछि चितवन प्रशासनले कडाइ गर्न थालेको छ । सोही अनुरुप प्रशासनले व्यवसायीहरुलाई डाकेर छलफल सुरु गरेको हो । प्रशासनले सोमबार नै चितवनका पेट्रोलियम व्यवसायीहरुसँग पनि छलफल गर्दैै प्रतिबद्धता व्यक्त गराउन लगाएको छ ।

सो क्रममा चितवन पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष काशीराज पाठकले इन्धनमा कालोबजारी हुन नदिने प्रतिबद्धता जनाए । नारायणी अनलाइनसँग उनले भने–‘आपूर्तीमा कुनै असहजता छैन, कालोबजारी हुन दिन्नौँ ।’ चितवनमा हाल मासिक ३० देखि ४० लाख लिटर पेट्रोल आयात हुने गरेको छ ।

कोरोनाको हल्लाले पेट्रोल समेत मौज्दात राख्न सक्ने अवस्था देखिएपछि प्रशासनले पहिल्यै कडाई गर्न थालेको छ । पेट्रोलियम व्यवसायीहरुले सवारी साधनमा बाहेक जर्किन, बोतललगायत अन्य भाँडामा पेट्रोल बिक्री वितरण नगर्ने प्रतिबद्धता जनाएका छन् । नारायणी अनलाइनसँग अध्यक्ष पाठकले भने, ‘विकास निर्माणमा डिजेल प्रयोग हुने भएकाले आवश्यकताको आधारमा डिजेल दिन्छौँ, पेट्रोल जथाभावी बिक्री गर्दैनौँ ।’

प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा कालोबजारी हुन नदिन व्यवसायीहरुलाई लिखित प्रतिवद्धता जनाउन लगाइएको बताए । सञ्चारपत्रसँग उनले भने, ‘व्यवसायीहरु कालोबजारी नगर्ने प्रतिबद्धता जनाउनु भएको छ, कालोबजारी गरेको भेटिए कडा कारबाही गर्छौँ ।’ उनले अहिले पनि बजार अनुगमनलाई तीव्रता दिइएको भन्दै कालोबजारी गर्ने कसैलाई नछोड्ने चेतावनी दिए ।

कोराना भाइरसको कारण देखाउँदै बजारमा कालोबजारी बढेकाले त्यसलाई रोक्नका लागि प्रशासन सक्रिय रुपमा लागेको उनले जिकिर गरे । अहिले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भन्दै ग्यास पेट्रोल जस्ता अत्यावश्यक वस्तुहरुको आयतमा बृद्धि गर्न लागिएको उनले बताए । “कालोबजारी र कृत्रिम अभावका कार्य नगर्न नगराउन हामीले अनुरोध गरिसकेका छौँ ।

जिल्लाका सरोकारवालाहरुको सहभागितामा गरिने औपचारिक र गोप्य रुपमा गरिने अनौपचारिक बजार अनुगमन तीव्र बनाएका छौँ” उनले भने, “उद्योग वाणिज्य संघ र उपभोग्य सामान बेचबिखन गर्ने विभिन्न व्यापारिक समूहलाई सहज आपूर्ति गर्न निर्देशन दिएका छौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>