चितवन विशेष

चितवनका चेपाङ समुदायको पीडा : किन गाउँमा आउँदैन विकास ?

Banner

कृष्ण आचार्य

भरतपुर, चैत ४-

चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित हुनुहुन्न । उहाँलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए हुन्थ्यो भन्ने उहाँको उत्कट चाहना छ । विकास टाठाबाठाले प्राप्त गर्छन् भन्ने उहाँको बुझाइ छ । गाउँपालिका गत आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “चेपाङगाउँमा मात्रै किन आउँदैन विकास ?”

“स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटका बारेमा हामीलाई थाहा नै हुँदैन”, उहाँले भन्नुभयो, “हामी कम बोल्ने र कम जानेबुझेको भएर होला ?”, उहाँले गुनासो गर्नुभयो । स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उहाँले गुनासो पोख्नुभयो । शिलाजस्तै अन्य चेपाङको गुनासो उस्तै छ । “हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छाैँ र बेच्छौँ”, रामजी चेपाङले भन्नुभयो । उहाँले विद्यालय टाढा हुँदा बालबालिका नियमित उपस्थित हुन समस्या भएको गुनासो पोख्नुभयो । कक्षा ३ सम्मका लागि बालकक्षाको व्यवस्था गाउँमै गर्नसके मात्रै बालबालिका नियमित विद्यालय जाने उहाँले बताउनुभयो । उहाँले चेपाङ बाहुल्य क्षेत्रका हरेक विद्यालयमा चेपाङ समुदायको शिक्षक राख्नुपर्ने माग गर्नुभयो । “पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौँ, अझै धेरै जान्न बाँकी छ”, उहाँले भन्नुभयो ।

इच्छाकामना गाउँपालिका–५ का वडासदस्य निर्मला श्रेष्ठले अधिकारका लागि चेपाङ समुदाय एकजुट हुनुपर्ने बताउनुभयो । “आजसम्म एक जना चेपाङ पनि योजना चाहियो भनेर वडामा आएका छैनन्, हामीले नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ, तपाईंहरु लाज नमान्नुहोस्, निर्धक्क भएर आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्नुहोस्, तपाईंका माग सम्बोधन हुन्छन्”, उहाँले भन्नुभयो ।

“चेपाङ समुदायको मुख्य समस्या बालविवाह हो”, वडा सदस्य श्रेष्ठले भन्नुभयो, “अझै पनि १५÷१६ वर्षमै बच्चा जन्माउने गरिएको छ, २० वर्ष कम उमेरको जन्म र विवाह दर्ता नै हुँदैन ।” ती समुदायमा हुने बालविवाह जनप्रतिनिधिका लागि पनि चुनौतीको विषय बनेको श्रेष्ठको भनाइ छ । उहाँले कक्षा ५ सम्म अध्ययन गर्ने चेपाङ बालबालिकाका लागि सरकारले निःशुल्क खाजाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

“अझै पनि चेपाङ नागरिकको अवस्था दर्दनाक छ”, इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष मोदराज सिलवालले भन्नुभयो, “सरकार र विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेको अभियान बालुवामा पानि खन्याएसरह भएको छ ।” जनचेतनाको कमी र गरिबीका कारण उनीहरु माथि उठ्न नसकेको सिलवालले बताउनुभयो । “जीवनस्तर उकास्न शुरुआत आफँैबाट गर्नुपर्छ, सरकार र सङ्घसंस्थाले त सहयोग मात्रै गर्ने हो”, उहाँले भन्नुभयो ।

वडाले सञ्चालन गरेको उद्घोषणलगायतका तालिममा पनि चेपाङ समुदायको प्रतिनिधित्व नभएको उहाँले बताउनुभयो । “यो समुदाय छरिएर होइन, एकीकृत भएर आउनुपर्छ, तपाईंहरु काम गर्छु भनेर आउनुहोस्, हामी बजेट दिन्छौँ”, उहाँले भन्नुभयो । आफ्ना अधिकारका विषयमा खुलेर बोल्न आग्रह गर्दै हरेक कार्यक्रममा सहभागी हुँदा भत्ता र खाजाभन्दा पनि ज्ञान र सीप सिक्नेतर्फ ध्यान दिन वडाध्यक्ष सिलवालले आग्रह गर्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>