Breaking News

कोरोनाभाइरस : ६५ सयको मुत्यु, १ सय ५७ देशमा संक्रमण

Banner

काठमाडौँ, चैत ३-

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा भाइरस १ सय ५७ मुलुकमा फैलिएको छ । १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।

संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् । उपचारारत ८५ हजार ४ सय ९३ जनामध्ये ५ हजार ९ सय २१ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३२ सय १३ पुगेको छ ।

एक हप्ता यता नयाँ संक्रमण अत्यन्तै कम देखिएको चीनमा थप १४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

चीनमा संक्रमण देखिएका ८० हजार ८ सय ५८ जनामध्ये ६७ हजार ७ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।

युरोपेली मुलुकलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोनाको संक्रमणले इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकको जनजीवन तहसनहस बनाएको छ ।

संक्रमण रोक्न सीमा नाका बन्ददेखि मानिसहरुलाई घरबाहिर निस्कन नदिदा पनि ती देशहरुमा कोरोनाभाइरसको संक्रमण फैलने क्रम रोकिएको छैन ।

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ हजार ७४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमण व्याप्त भएपछि इटालीमा आज सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरिएको छ । इटालीले ‘लकडाउन’ गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाइसकेका छन् तर पनि त्यहाँ संक्रमण फैलन छाडेको छैन ।

स्पेनमा थप ९६ जना संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । ७ हजार ८ सय ४५ जनामा संक्रमण भएको छ ।

यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५४ सय २३ जना संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । १३ सय ११ जना मानिस संक्रमित भएका छन् ।

कोरोनाभाइरसका कारण नेदरल्याण्डमा २०, स्विटजरल्याण्डमा १४ जना, जर्मनीमा ११, बेल्जियममा ४, नर्वे तथा स्विडेमा ३/३ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुक इरान र दक्षिण कोरिया पनि कोरोनाभाइरसको चपेटामा परेका छन् । इरानमा ७ सय २४ जनाको मृत्यु भएको छ त्यहाँ १३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ७५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ८ हजार १ सय ६२ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>