एथलेटिक्स

राष्ट्रिय ब्याडमिन्टनको उपाधिमा चितवनको बर्चश्व

Banner

चितवन, चैत २–

लामो समयपछि चितवनमा भव्यताकासाथ राष्ट्रियस्तरको प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

भरतपुरस्थित कभर्डहलमा २०० जना खेलाडीले सहभागिता जनाएको प्रतियोगिता आइतबार राति सकिएको हो । प्रतियोगितामा समावेश चार विधा मध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् ।

प्रतियोगितामा सबैभन्दा चासोको विधा थियो पुरुष डबल ‘ए’ । यस विधाको उपाधि चितवनका खेलाडीले नै जितेका छन् । निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा चितवनका राजु थापा र विनोद पौडेलको जोडीले सहज जित हासिल गर्‍यो ।

यी दुईले पोखराका विशाल खड्का र विशाल बस्नेतको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । चितवनले पहिलो सेट २१–१९ ले जितेको थियो भने दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पार्‍यो । चितवनलाई उपाधि दिलाउन घरेलु दर्शकको साथ पनि राम्रो रह्यो । खेल सकिदा राति सवा ८ बजेको थियो । त्यतिबेलासम्म पनि दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।

उपाधि जित्न सफल चितवनका थापा र पौडेलको जोडीले नगद ४० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाण पत्र पाए । उपविजेतामै सिमित पोखराका थापा र पौडेलको जोडीले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता र उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष गंगा लामाले पुरस्कार प्रदान गरेका कार्यक्रम संयोजक सुदन दराईले जानकारी दिए ।

यस्तै प्रतियोगिता अन्तरगत पुरुष डबल ‘बी’ समूहको उपाधि चितवन जिल्ला ब्याडमिन्टन संघका बुद्धि चौधरी र गोपाल पन्थीले हात पारे । यी दुईको जोडीले पूर्वी चितवन बेल्सीका विकास डल्लाकोटी र सन्देश बस्नेतलाई पराजित गरे । खेल प्रतिस्पर्धात्मक बने पनि २–० को सोझो सेटमै सकिएको थियो । विजेता चौधरी र पन्थीको जोडीले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपविजेता बनेका बेल्सीका डल्लाकोटी र बस्नेतले नगद १३ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यसैगरि प्रतियोगिता अन्तरगत पुरुष भेट्रान्स (४५ वर्ष माथि)को उपाधि चितवन ब्याडमिन्टन संघका बुद्धि चौधरी र सुरेश श्रेष्ठको जोडीले जितेको छ । चितवनले तनहुँका टिक थापा र मोनबहादुर रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
विजयी टिमले ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो भने उपविजेता तनहुँले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

त्यस्तै सुपर भेट्रान्स (५५ वर्ष माथि)को भने बागलुङले जितेको छ । बागलुङका राजेन्द्र शाक्य र विष्णु श्रेष्ठको जोडीले चितवनका पुष्प श्रेष्ठ र राजु थापाको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता लिएको चितवनले लगातार दुई सेट गुमाउँदा २–१ ले पराजित भएको थियो । पहिलो सेटमा चितवनले उत्कृष्ट जित हासिल गरेको थियो । तर दोस्रो र तेस्रो सेटमा बागलुङले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । विजयी समूहले नगद १० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो भने उपविजेता टोलीले नगद पाँच हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

प्रतियोगिता नेपाल खेलाडी तथा प्रशिक्षक संघ, चितवनले आयोजना गरेको हो । प्रतियोगिताको सहयोगी संस्थामा नेपाल ब्याडमिन्टन संघ, चितवन र जिल्ला खेलकूद समिति रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>