अन्तर्राष्ट्रिय
कोरोना भाइरस प्रकोप : भारतले पनि सबै पर्यटक भिसा बन्द गर्यो

नयाँ दिल्ली फागुन २९-
विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ ।
भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जानकारी दिएका छन्।
साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ ।
भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ ।
आजै मध्यरातिदेखि भारतले यस्ता भिसाहरु बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरुका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसाहरु भने यथावत नै रहने बताइएको छ ।
भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ ।
ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसका केही संक्रमित फेला परेका छन् । तर यसबाट कसैको मृत्यु भने भएको छैन ।
विश्वका ११० भन्दा बढी देशमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ४ हजार ५०० पुगेको बताइएको छ ।
तर यसमध्ये ५० हजार भन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको उहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ ।
चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् । इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ ।रासस/एएफपी
























