Breaking News

माडीको गर्दी स्वास्थ्य चौकीमा मेसिन किन्न अष्ट्रियामा खाना बेच्दै लालु

Banner

प्रिती पोख्रेल

चितवन, फागुन २६-

माडी नगरपालिका–१ गर्दी स्वास्थ्य चौकीमा सेमी अटो एनालाइजर मेसिन खरिदका लागि एक महिला अष्ट्रियामा खाना बनाएर बेच्ने काममा व्यस्त छन् । गाउँमा लालु दिदी भनेर चिनिने माया मुलर अस्ट्रियाको राजधानीस्थित आफू बस्ने घरमा आफ्नो कामको अतिरिक्त नेपाली खाना खाजा बनाई विदेशी नगरिकलाई खुवाउने तथा प्राप्त रकम मेसिन खरिदका लागि संकलन गरिरहेकी छन् ।

माडी नगरपालिका–१ वडाध्यक्ष कृष्ण पौडेल भन्छन् ‘गर्दी स्वास्थ्य चौकीमा बर्थिङ् सेन्टर स्थापना योजनाको उहाँ जननी हो ।’ स्वास्थ्य चौकीले बर्थिङ सेन्टर सञ्चालन गरेको करिब चार महिना पुग्यो । यहाँबाट २५ जना महिला सुत्केरी भए । जुन आफैमा राम्रो दर हो । ‘छोटो समयमै धेरै महिला दिदिबहिनीहरु लाभान्वित हुने बर्थिङ सेन्टर स्थापनामा समेत लालु दिदीको उत्तिकै योगदान छ’ वडाध्यक्ष पौडेल भन्छन् । ‘उक्त मेसिनको अभावले जोखिमपूर्ण अवस्थामा समस्या हुने देखिएपछि हामीले लालु दिदीलाई यसबारे बतायौँ, उहाँले हुन्छ म गर्छु भन्नु भयो’ पौडेलले नारायणी अनलाइनलाई बताए । ‘अहिले लालु दिदी विदेशमा खाना बेच्दैँ हुनुहुन्छ,यो देशप्रेम भन्ने चिज पनि अचम्मको हुँदो रहेछ’ उनी भन्छन् ।

माडी नगरपालिका–१ घर भई बिगत २० वर्षबाट अष्ट्रिया रहदैँ आएकी ४५ वर्षीय माया मुलर लालु दिदीको मनमा यत्तिका समयको अन्तरालमा समेत आफ्नो देश र गाउँको माया जिउँकोतिउँ छ । या भनौँ दूरीले सम्झना अझ बाक्लो बनाइदिएछ । भौगोलिक रुपमा कोसौँ टाढा भए पनि आफ्ना कामका खातिर गाउँका आफ्नाले स्मरण गरिरहुन सायद अपेक्षा उनको समयमै उपचारको अभावमा महिलाको ज्याननै जोखिममा हुने समस्या नपरोस् भन्ने चाहना छ ।

माया मुलर लालु दिदीले गर्दी स्वास्थ्य चौकीलाई रङरोगन गरी स्तोन्नोति गर्ने काममा पनि सहयोग गरेकी थिइन् । स्वास्थ्य चौकीबाट आजभोलि सहज सेवा लिन पाउँदा सेवाग्रही पनि खुसी देखिन्छन् । यसमा वडाध्यक्ष पौडेलको योगदान पनि उत्तिकै छ । माडीको निकासका लागि जनताका पक्षबाट केही हप्ता अघि मात्र एक हप्ते अनसन बसेका वडाध्यक्ष पौडेलको स्वस्थ्य अवस्था अझै सामान्य बनेको छैन । सुस्केरा हाल्दैँ उनी भन्छन्, ‘स्वास्थ्य चौकीमा बच्चा जन्मिँदा जति खुसी बच्चाको आमा हुनुहुन्छ,त्यत्ति नै खुसी र प्रंसन्न म हुन्छ, आनन्द लाग्छ कि स्थानीयले राम्रो सेवाको उपभोग गर्ने वातावरण बनेको छ ।’

स्वास्थ्य चौकीलाई नारायणी सामुदायिक हस्पिटल भरतपुरले ८ थान शैया सहयोग गरेको थियो । अहिले मेसिन खरिदका लागि माया मुलर लालु दिदी विदेशी भूमिमा मेहनत गर्दै छन् । सर्वपक्षीय सहयोग र पहलले स्थानीयलाई गुणस्तरीय र सुविधायुक्त सेवा प्रदान गर्न सकिनेमा वडाध्यक्ष पौडेल बिश्वस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>