चितवन विशेष
१५ करोडको लागतमा नारायणी लिफ्टमा अत्याधुनिक पम्प राखिदै

चितवन,फागुन २६-
नारायणी लिफ्टमा अत्याधुनिक प्रविधिबाट बनेको पानी तान्ने पम्प र मोटरहरु जडान गरिने भएको छ । नारायणी लिफ्ट, खगेरी सिँचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनले महत्वपूर्ण योजना अन्तरगत १५ करोड लगानीमा नयाँ पम्प र मोटरहरु जडान गर्न लागेको हो ।
पम्प निर्माण भएसंगै वर्षभरि पानी सिँचाई गर्न सकिने कार्यालयका प्रमुख खेमबहादुर पाठकले बताए । “पुराना मेसिन हुँदा पम्प बिग्रिरहन्छन् । क्षमता जति पानी तानेको छैन,” उनले भने, “नयाँ पम्प जडान गरियो भने पानी हिउँदमा लिफ्ट गर्न सकिन्छ ।” उच्च प्रविधिको हाई हेडमा चल्न सक्ने छ । डीपीआर भने ३५ करोडको डीपीआर तयार भएको छ । एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाले पश्चिम चितवनको क्षेत्रलाई सिँचाई गर्न सहज हुनेछ ।
पानीमुनि नै मोटर राखिने हुँदा हिउँद र बर्खामा पानी तान्न सकिने उनको भनाई छ । उनका अनुसार नारायणी लिफ्टको पम्प हाउस एका ४ वटा पम्प, ईलेक्ट्रिकल प्यानल बोर्ड र ट्रान्सफर्मर फेरिनेछ । यसका लागि डीपीआर तयार भएर टेन्डर निकाल्ने प्रक्रियामा रहेको पाठकले बताए । “विगत वर्षदेखि नै पम्प हाउस मर्मत गर्ने तयारी थियो । प्रदेशमा गैसकेपछि बजेट विनियोजन भएको छ” उनले भने, “हामीले केही दिनमा टेन्डर निकालेर काम अगाडी बढाउँछौँ ।” अब प्रतिसेकेण्ड दुई हजार लिटर पानी तान्ने २ वटा र प्रतिसेकेण्ड ४ हजार लिटर पानी तान्ने २ वटा पम्प जडान गरिनेछ ।
नयाँ पम्प आएपछि ४७ सय हेक्टर क्षेत्रफलमा सिँचाई गर्न सकिने उनले बताए । यस पप्पले विद्युत्को खपत पनि कम हुने अनुमान गरिएको छ । “विगतमा ११ केभीले विद्युत् चलाउन पथ्र्यो । नयाँ पम्पलाई स्टेपडाउन गरेर लैजाने भएपछि ६ दशमलव ६ केभिले पम्प सञ्चालन हुन्छ” उनले भने “यसले गर्दा विद्युत् पनि बचत हुने देखिन्छ ।”
४० वर्षअघि बनेको नारायणी लिफ्टमा पानी तान्नका लागि चार वटा पम्प छन् । दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने छ । नारायणी लिफ्टको मुहान पोखरा बसपार्क रहेको छ । त्यहाँ रहेको पम्प हाउस ‘ए’बाट पानी तानेर लिङ्क क्यानलमा फाल्छ । लिङ्क क्यानलबाट ‘बी’ क्यानलले पानी तानेर ‘सि’ क्यानलबाट पानी वितरण गर्ने गरिन्छ ।
करिब तीन हजार ९०० हेक्टर जमिनमा समेत सिँचाइ पु¥याउन सकिने डिभिजनले जनाएको छ । नारायणी लिफ्टको पानी राधापुर र देवनगरस्थित नहरबाट खगेरी सिँचाई प्रणालीमा मिसाउन सकिन्छ । नहर सुधार भए पश्चिम चितवनका धेरै भू–भागमा सिँचाइ सुविधा विस्तार हुने उनको भनाइ छ । नारायणी लिफ्टको ‘ए’ नहर ५ सय मिटर, ‘बी’ नहर १९ किमी र ‘सी’ नहर १६ किमी लामो छ । ‘बी’ नहरले यज्ञपुरी, तोरीखेत, पारसनगर, देवनगर र फूलबारीसम्मको जमिनमा सिँचाई सुविधा उपलब्ध गराउँछ । ‘सी’ नहरले भोजाड, बसेनी, गोन्द्राङ हुँदै गौरीगञ्ज सम्म सिँचाई पु¥याएको छ ।
बालुवा फाल्न वार्षिक ५५ लाख
नारायणी लिफ्ट सिँचाईको नहरमा आएको सिल्ड फाल्नका लागि वार्षिक ५५ लाख रुपैयाँ बराबरको बजेट छुट्टिने गरेको छ । “प्रत्येक वर्ष नारायणीले बालुवा लिएर आउँछ । त्यो समय पानी चलाउनु पर्छ” उनले भने, “नहरमा सिल्ड (बालुवा) आएर जम्म हुन्छ । प्रत्येक बर्ष बालुवा झिक्नुपर्छ ।” नहर सफाई गर्नका लागि चालु आर्थिक वर्षमा पनि ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्रत्येक वर्ष १५ किलोमिटर नहर सफाई गर्नुपर्छ । विशेष गरी कल्याणपुर, सिताराम चोक, केसरबहाक, बसेनी साईडमा बालुवा भरिने गर्दछ ।
























