Breaking News
कोरोना प्रभाव: भरतपुरको हवाइ उडानमा विशेष निगरानी, यात्रुको संख्या घट्दै

चितवन, फागुन २४-
नेपाललगायत विश्वभर फैलिएको नोबल कोरोना भाइरसको त्रासले भरतपुरबाट काठमाडौँ र पोखरा हुने उडानहरुमा विशेष सर्तकता अपनाइएको छ ।
भरतपुरमा कोरानोनाको त्रासले एयरलाइन्सहरुले विशेष सर्तकता अपनाउँदै रोकथामका विभिन्न उपायहरु अपनाएका हुन् । बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले हवाइ उडानमा कोरोनाको केही असर देखिन थालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मानिसहरु अत्यावश्यक काम बाहेक खासै घुमघामको लागि हिड्ने गरेका छैनन् । हामीले जहाजमा राख्नु अगाडि चेक गरेर मात्र राख्ने गरेका छौं । ’ बुद्ध एयरका कर्मचारीहरु पनि पूरै सुरक्षाका उपायहरु अपनाएर माक्स, पञ्जा लगाएर काम गरिरहेको उनले बताए । भरतपुरबाट काठमाडौँ र पोखराका उडानहरु पूरै बन्द नभए पनि केही न केही मनोवैज्ञानिक त्रास भने रहेको स्टेशन म्याजेर बस्नेतले जानकारी दिए ।
त्यसैगरी यती एयरलाइन्स भरतपुरका स्टेशन म्यानेजर अनुप ढकालले हवाइ यात्रुहरुको चाप अलीअली कम भने हुन थालेको बताए । उनले नागरिक उड्डयन कार्यालयले गर्नुपर्ने प्रभावकारी रोकथामका कामहरु एयरलाइन्सहरु आफैँले गरिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ एयरलाइन्सका सेम्युरिटी गार्डहरुले कोरोना भाइरसको चेक गरेर मात्र जहाजमा पठाइने गरिएको छ ।’ उनले अहिलेसम्म कुनै पनि उच्च ज्वरो आएको हवाइयात्रु नभेटिएको जानकारी दिए ।
कोरोना भाइरसको कारण देखाउँदै विमान कम्पनीहरुले बिहीबार काठमाडौँमा उडान संख्या घटाउने निर्णय गरेका थिए । सञ्चालकहरुको बैठकले सबै वायुसेवा कम्पनीहरुले समानुपातिक रुपमा आफ्नो जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेका थिए । तर, यती र बुद्ध एयरले भरतपुरमा भने अहिलेसम्म कुनै उडान नरोकिएको जानकारी दिए । पोखरामा धेरै असर गरेको भए पनि भरतपुरमा भने त्यस्तो नदेखिएको बुद्ध र यती एयरलाइन्सका स्टेशन म्यानेजरहरु बस्नेत र ढकालले बताए ।
देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको सौराहामा फागुनको महिना पर्यटकीय सिजन नै भए पनि यसपटक भने कोरोनाको त्रासले पर्यटन व्यवसाय थला परेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले गत वर्ष यो महिनामा सम्पूर्ण होटलहरुमा ८० देखि ९० प्रतिशत होटलहरु भरिएकोमा यो वर्ष अहिले जम्मा १५ देखि २० प्रतिशत मात्र भरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।
उता नेपालका विमान कम्पनीका सञ्चालकहरुले कोरोना भाइरसका कारण विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले यसको प्रत्यक्ष प्रतिकूल प्रभाव हवाई क्षेत्रमा देखिएको जनाएका छन् । नेपालमा पनि आन्तरिक हवाई उडानमा चार अर्बभन्दा माथि आम्दानी कम हुन सक्ने प्रारम्भिक अनुमान उनीहरुको छ । सन् २०२० को दुई महिनामा आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकहरुको संख्या करिब ४० प्रतिशतले घटेको उनीहरुको विज्ञप्तिमा उल्लेख छ । ‘सहजरुपमा नेपाल भित्र स्वदेशी तथा विदेशी पर्यटकहरु आवत जावत गर्न सक्ने स्थिति देखिँदैन,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘यसले कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।’
फाइल फोटो
























