Breaking News
कस्तो छ प्रधानमन्त्री ओली र मिर्गौला दिएकी संग्रौलाको स्वास्थ्य अवस्था ?

काठमाडौं, फागुन २३-
बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली उठेर बस्न थालेका छन् ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको छ । उनले बिहीबारदेखि झोलिलो र नरम आहार खान थालेका छन् ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि तरल र नरम आहार खुवाउन सुरु गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको अवस्थामा एक साताभित्र डिस्चार्ज गरिने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहयोग गर्न भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको टोली फर्किएको छ । डा. अनन्त सहित नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक आएका थिए ।
यसअघि प्रधानमन्त्री ओलीलाई सातदेखि १० दिनसम्म अस्पतालमा राख्नुपर्ने बताइएको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गरिए पनि संक्रमण हुन सक्ने भएकाले एक महिना सार्वजनिक कार्यक्रममा उपस्थित नगराइने उपचारमा संलग्न एक चिकित्सकले बताए ।
























