Breaking News

कोरोनाः पूर्व तयारीबारे स्वास्थ्य मन्त्रालयको टोलीद्धारा भरतपुर अस्पतालको निरीक्षण

Banner

चितवन,फागुन २१-

कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो ।

सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिनुभयो । छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमा नै बसेर क्वारेन्टाइन गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ थियो । अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उहाँले निर्देशन दिनुभयो ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीका बारेमा जानकारी दिनुभएको थियो । उहाँले पाँच श्ययाको छुट्टै कक्ष (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) तोकिएको बताउनुभयो । ज्वरोका बिरामीलाई छुट्टै परीक्षण गरिएको र विशेषज्ञ चिकित्सकहरुबीच नियमित अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतलमा अहिले मास्क र पिपी (उपचारका क्रममा लगाइने कपडा)अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उहाँले आग्रह गर्नुभयो । कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र जनचेतना फैलाउने काम भइरहेको तिवारीले बताउनुभएको थियो । भरतपुर अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>