चितवन विशेष
भरतपुर महोत्सवमा कलाकारको प्रस्तुति

चितवन, फागुन १७-
भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर सांस्कृतिक महोत्सवमा आज स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति राखेका छन् ।
महोत्सवमा कलाकारहरुले लोक तथा दोहोरी गीत गाएर दर्शकलाई भरतपुर मनोरञ्जन दिएका हुन् । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ ले कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक उत्पादनलाई प्रवद्र्धन गरेको महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणको रुपमा २० हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको सांस्कृतिक घर सहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको पौडेलको भनाइ छ । सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिएको मूल संयोजक पौडेलले बताए ।
महोत्सवमा अटो सम्बन्धी १०, फास्टफुडका १०, आइसक्रिम तथा पानीजन्य १५, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलसमेत २५० बढी स्टल रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिए । महोत्सवको आम्दानीबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केही रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

























