समाचार
क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनाको दोस्रो पटक स्वास्थ्य परीक्षण हुँदै

काठमाडौँ, फागुन १७-
सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औं दिनमा घर फर्काइने भएको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले १४ दिन सफल रुपमा पार गरिसकेका छन् ।
दुई हप्तासम्म क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य परीक्षण हुनेछ ।
उनीहरुको नमूना संकलन गरी परीक्षण गरिने छ । परीक्षणपछि नोवेल कोरोना भाइरसको संक्रमण नदेखिएमा घर जान दिइने छ ।
विश्वका ५० भन्दा बढी देशमा संक्रमण फैलिएको कोरोना भाइरसको इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीलाई सावधानिका लागि खरिपाटीमा दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो ।
१४ दिनअघि क्वारेन्टाइनमा राखिँदा सुरुमा लिइएको नमूनामा परीक्षणमा सबैमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको थियो ।
१४ दिनपछि शनिबार संकलन गरेको नमूनाको परीक्षण गरेपछि त्यसको रिपोर्टका आधारमा क्वारेन्टाइन सेन्टरमा रहेकाहरुलाई त्यहाँबाट बिदा गरिने छन् । नमूना परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्छ ।
क्वारेन्टाइनमा रहेकाहरु सबैको यहाँ खटिएका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् भने नेपाली सेनाको वीरदल गणको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको कन्ट्रोल रुमबाट सिसी क्यामराको माध्यमबाट पनि उनीहरुको निगरानी गर्नाका साथै आवश्यकता अनुसार माग गरेका सामान पुर्याइदिने व्यवस्था गरिएको छ ।
























