खैरहनी

खैरहनीमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी हुँदै

Banner

कारी महतो

चितवन, फागुन १४

ईशा भुसाल पेसाले स्टाफ नर्स हुन् । वाग्मती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम लागू गरी भुसाललाई स्टाफ नर्समा नियुक्त गरेपछि उनले अस्पतालमा नभई सामुदायिक विद्यालयमा काम सुरु गरेकी छन् । कात्तिक १० गतेदेखि उनी खैरहनी नगरपालिकामा रहेको कंकाली माध्यमिक विद्यालयमा स्वास्थ्य सेवा दिइरहेकी छन् । विद्यालयमा नियुक्त भएको चार महिनाकै सेवा अवधिमा उनले विद्यालय र विद्यार्थी माझ निकै प्रभावकारी सेवा प्रदान गर्न सक्षम देखिएकी छिन् । विद्यार्थीहरु पनि आफूहरु पढ्ने विद्यालयमै नर्सिङ सेवा पाएकोमा निकै दंग छन् ।

स्टाफ नर्स आएपछि विद्यालयमा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु निकै प्रभावकारी भएको कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जना आचार्यले बताइन् । उनले भनिन्, ‘विद्यार्थीको व्यक्तिगत स्वास्थ्यको हेरचाह भएको छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याको कारणले विद्यार्थीहरु विद्यालय नै नआउने वा आएर पनि सानोतिनो कारणले बिदा माग्ने क्रम निकै घटेको छ । ’

नर्स ईशाको सक्रियतामा विद्यालयमा रहेका सबै विद्यार्थी र शिक्षकको कान परीक्षण कार्यक्रम सम्पन्न भएको छ । स्टाफ नर्सकै संयोजनमा बछौलीमा रहेको कम्युनिटी हेल्थ सेन्टरसँग सहकार्य गरी विद्यालयका ५४५ जना विद्यार्थी र २२ जना शिक्षक कर्मचारीको कान परीक्षण गर्दा ७० जना विद्यार्थीको कानमा समस्या देखिएको थियो । कम्युनिटी हेल्थ सेन्टरमा कार्यरत डाक्टरसँग निरन्तर सम्पर्क र फलो अप गरी निःशुल्क रुपमा उपचार सम्पन्न गरिएको छ ।

भुसाल स्टाफ नर्सको रुपमा विद्यालयमा आउनु भन्दा अगाडि विद्यार्थीले अत्यधिक मात्रामा जंक फुड खाने गरेका थिए । नर्सको दैनिक सक्रियताले अहिले विद्यालयमा जंक फुड निषेध कार्यक्रम सञ्चालन भएको छ । अहिले विद्यार्थीबाट विद्यालयमा जंक फुड ल्याउने र खाने काम बन्द भएको छ । जंक फुडले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असरबाट बचाउनका लागि नर्सले वडा कार्यालयसँग सहकार्य गरी विद्यालयको ५० मिटर वरपर जंक फुड बिक्री वितरणमा समेत रोक लगाइएको छ । जंकफुड निषेध गर्दा विद्यालयको वातारणीय सरसफाइमा पनि सकारात्मक प्रभाव परेको छ । जंकफुड प्याकिङ गरिने प्लाष्टिकका खोलहरु विद्यालयको हाताभित्र यत्रतत्र छरिएर विद्यालयको वातावरण निकै फोहोर हुन्थ्यो । अहिले त्यस्तो छैन ।

नर्स ईशा भुसाल विद्यालयमा आएपछि बालबालिकाको व्यक्तिगत सरसफाइ, छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्थापन, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि निकै प्रभावकारी भएको छ । कुनै शिक्षक अनुपस्थित भएको दिनमा नर्स इशाले स्वास्थ्यसम्बन्धी अध्यापन गर्छिन् । हरेक शुक्रबारको कक्षा सकिएपछि नर्स ईशाले शिक्षकलाई पनि स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिन्छिन् । स्वास्थ्यसम्बन्धी विभिन्न दिवसको दिनमा विद्यालय एसेम्ब्लीमा नर्स इशाको सक्रियतामा चार्ट, पोष्टर प्रदर्शनलगायत चेतनामूलक कार्यक्रम हुने गरेको छ । नियमितरुपमा स्वास्थ्य सेवा अगाडि बढाउनका लागि स्वस्थ्य शिक्षक राधा पोखरेलको संयोजकत्वमा एउटा स्वास्थ्य समिति गठन गरिएको छ ।

त्यसैगरी चितवनको राप्ती नगरपालिका–२ मा अवस्थित बुद्धशान्ति माध्यमिक विद्यालयमा प्रतिमा सेडाई, रत्ननगर नगरपालिका वडा नं. १६ मा अवस्थित भद्रकाली माध्यमिक विद्यालयमा बन्दना सापकोटा पनि स्टाफ नर्सको रुपमा कार्यरत छन् । प्रत्येक विद्यालयमा एक नर्सको व्यवस्था मिलाउने अवधारणअन्तर्गत चितवनको सात स्थानीय तहको सातवटा विद्यालयमा सात जना नर्स सेवारत छन् ।
नेपाल सरकारले सुरु गरेको विद्यालय नर्स कार्यक्रमबाट स्टाफ नर्स आएको चार महिनामै विद्यालयका बालबालिकामा स्वास्थ्य सम्बन्धी निकै सकारात्मक प्रभाव पर्दै गएको देखिन्छ । एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा अनुसार नेपाल सरकारले सबै माविमा नर्सको व्यवस्था मिलाउन सकेमा विद्यालय तहका सम्पूर्ण बालबालिकाहरु स्वास्थ्यसम्बन्धी मानसिक तनावबाट मुक्त भई उनीहरुको सिकाइ उपलब्धिसमेत सुधार हुने निश्चित देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>