चितवन विशेष
कांग्रेसद्वारा आज माडी बन्द, अनशनरतको मागलाई सरकारले बेवास्ता गरेको आरोप

चितवन, फागुन १२-
माडी नगरपालिकामा नेपाली कांग्रेसले आज माडी बन्द गरेको छ । बन्दले जनजीवन प्रभावित भएको छ ।
माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन सुरु गरेको एक साता पुग्न लाग्दा समेत राज्यपक्षबाट कुनै सुनुवाइ नभएको भन्दै नेपाली कांग्रेस माडी नगर समितिले आज माडी बन्द गरेको हो ।
कांग्रेसले माडीका शैक्षिक संस्थाबाहेक यातायात र बजार बन्दको आह्वान गरेको कांग्रेसका नगर सभापति कोमलनाथ भुसालले जानकारी दिए । यससँगै माडीमा लामा तथा छोटा दूरीका सवारी सञ्चालनमा छैनन् । पौडेलको माग सम्बोधनको लागि दबाबस्वरुप सर्मथकले यसअघि पनि चक्काजाम, कोणसभा र्यालीसमेत गर्दै आइरहेका छन् । यता, अनसनरत वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको छ । उनको अवस्था गम्भीर बनेसँगै थप उपचारका लागि आज बिहानै भरतपुर लगिएको छ ।
बघौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा आलोक कुमारले उनलाई शरिरमा भिटामिन कमी हुँदा तत्कालै भरतपुर लैजान सुझाव दिएका थिए । यसअघि आइतबारदेखि पौडेललाई अनसनस्थलमै चौबिस घण्टे आईसीयू परीक्षणमा राखिएको थियो । पौडेलको अनसनको आज छैठौँ दिन हो ।
























