अर्थ
विश्व बजारदेखि स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च

चितवन, फागुन ७–
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
हिजो बनाएको रेकर्डलाई तोडदै सुन प्रतितोला ७७ हजार १ सयमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो एक तोला सुन किन्न ७६ हजार ७ सय तिरे पुग्थ्यो। तर, आज एक तोला सुन किन्न ७७ हजार १ सयमा तिर्नुपर्ने भएको छ ।
प्रतितोला ७६ हजार ७ सयमा कारोबार हुँदै आएको एक दिनमै ४ सयले बढेर ७७ हजार १ सय पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर कायम भएको छ । यो ५.१४ डलरले उकालो लागेको हो ।
युरोप, अमेरिका, एशिया सबैतिर विश्व बजारदेखि स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
























