स्वास्थ्य
नेपालमा कोरोना भाइरसको हल्लामा वास्तविकता छैनः स्वास्थ्य मन्त्री

पाल्पा,फागुन १-
‘पाल्पाको समृद्धिको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ पाल्पाको दमकडामा आजदेखि प्रथम पाल्पा महोत्सव शुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ । समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका छन् ।
त्यस्तै पाल्पाका कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु, राष्ट्रिय अन्तरराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्रीलाई पनि महोत्सव राखिएको उहाँले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय उत्पादित वस्तु, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार र बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा पाल्पाका विभिन्न जाजजाति, धर्म, संस्कृति अनसारका झाँकी, घाटु नाच, लाखे नाच, चुट्का, रोइला, झ्याउरे, सोरठी कडुवा, ख्याली भजन लगायतका सांस्कृतिक प्रस्तुति देखाइने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोवार हुने अपेक्षा आयोजकको छ । महोत्सवका उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबारे बढी हल्ला भइरहेको बताउनुभयो ।
नेपालमा अहिलेसम्म पनि कसैमा कोरोना भाइरस नदेखिएको बताउँदै उहाँले गलत हल्लाको पछाडि लागेर आतङ्कित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता छ भन्नुभयो । मन्त्री ढकालले भन्नुभयो, “चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन, १८ नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सङ्क्रमित भेटिएनन् । रासस























