चितवन विशेष
रत्ननगरको नगरसभा: तीन कार्यविधि, एक निर्देशिका पारित

चितवन, माघ २९-
रत्ननगर नगरपालिकाका ेआज सम्पन्न छैठौं नगरसभाले तीन महत्वपूर्ण कार्यविधि र एउटा निर्देशिका सर्वसम्मत पारित गरेको छ ।
हिउँदे अधिवेशनका रुपमा लिने सो नगर सभाले ७१ वटा योजनामा बजेट रकमान्तर, राजस्व बजेट तथा योजना निर्माणको समीक्षा, करको दरमा छुट दिइएको मेयर नारायण वनले जानकारी दिए । विधान मस्यौदा समितिका संयोजक तिलकराज शर्माले प्रस्तुत गरेको नगर प्रमुख उद्यमशिलता प्रवद्र्धन कोष सञ्चालन कार्यविधि, टोल विकास संस्था सञ्चालन कार्यविधि, बजार व्यवस्थापन कार्यविधि, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण निर्देशिका सर्वसम्मत पारित भएको हो । राजस्व परामर्श समितिकी संयोजक उपमेयर विमला दुवाडीले राजस्व, बजेट तथा योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य संस्था, सामुदायिक विद्यालय र मठमन्दिरलाई नगरपालिकाले कर नलिने घोषणा गरिन् ।
स्वास्थ्य संस्था, सामुदायिक विद्यालय र मठमन्दिरको सम्पत्ती कर, भवन निर्माण गर्दा नगरपालिकाले दिने नक्सापास दस्तुर अबदेखि नलाग्ने उपमेयर दुवाडीले बताइन् । कार्यक्रममा पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठले रकमान्तर बजेट र योजनाको विषयमा जानकारी गराएका थिए । नगर सभामा मेयर नारायण वनले आवश्यकताको प्राथमिकतालाई मध्यनजर गरी केही बजेट रकमान्तर गरिएको बताए । आगामी आर्थिक वर्षमा सकभर बजेट रकमान्तर नगर्ने उनको भनाइ छ । मेयर वनले वडास्तरीय योजना उत्पादनशिल क्षेत्र जोड दिएर योजना छनौट गर्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, वडाध्यक्षहरु राजन भट्ट, बलराम दाहाल, कृष्ण महतो, प्रवक्ता राजेन्द्र हमाल, कार्यपालिका सदस्य सरस्वती लामा, गीता दाहाल, वडा सदस्य अपिल अधिकारी, सोमबहादुर तामाङलगायतले मन्तव्य राखेका थिए ।
























