स्वास्थ्य
कोरोना महामारी : मंगलबारमात्रै ९४ जनाको मृत्यु, औपचारिक नाम ‘कोभिड–१९’

माघ २९, पेचिङ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसको संक्रमणबाट विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये मंगलवार ९४ जनाको मृत्यु भएको छ । साथै आयागले कोरोना भाइरसको संक्रमणका कारण चीनमा मृत्यु हुनेको संख्या बुधवारसम्म १ हजार १०७ पुगेको बताएको छ ।
हुपेई प्रान्तमा सोमवारमात्रै १०३ जनाको भाइरसका कारण मृत्यु भएको थियो ।
स्वास्थ्य आयोगका अनुसार मंगलवार थप १ हजार ६३८ जनामा संक्रमण देखिएको छ । सोमवार भने २ हजार ८७ जनामा संक्रमण पाइएको थियो ।
चीनबाहिर हालसम्म २५ भन्दा बढी देशमा ५०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । चीन बाहिर सवैभन्दा बढी योकोहामा बन्दरगाहमा रहेको डायमण्ड प्रिन्सेसमा १३५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
उक्त जहाजमा करीब ३ हजार ६०० यात्रुहरु रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । चीनसहित विश्वका विभिन्न देशमा गरी कोरोना संक्रमितको संख्या ४५ हजार भन्दा बढी पुगेको छ ।
‘कोभिड–१९’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने राेगको नामाकरण गरेको छ । राेगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।
कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लूएचओले नयाँ नाम दिएको हो ।
‘हामीले कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौं,’ डब्लूएचओका प्रमुख टेडोर्स एडहानोमले भने ।
नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको उनले जनाएका छन् ।























