चितवन विशेष

अस्पतालको हब चितवन: काठमाडौँबाट पनि रिफर भएर आउँछन् बिरामी

Banner

चितवन, माघ २८-

भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरको दोस्रो तलामा दुर्घटनामा खुट्टा भाँचिएर आएका ४१ वर्षीय कुमार भट्टराई उपचाररत छन् । अस्पतालको दोस्रो तलाको ३०८ नम्बर बेडमा रहेका उनी पाँच दिन अगाडि नुवाकोटको त्रिशूलीबाट काठमाडौँ फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा परे । उनको बाँया खुट्टा भाँचिएपछि उपचारको लागि काठमाडौँको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा लगियो । त्यहाँ खुट्टाको शल्यक्रियाको लागि थप १० दिन पर्खनुपर्ने भनिएपछि उनले चितवन रिफर माग्दै उपचारको लागि भरतपुरको एलाइभ अस्पताल आइपुगे ।
भट्टराई त एक प्रतिनिधि पात्र मात्र हुन् उनी जस्तै कयौं बिरामीहरु काठमाडौँबाट चितवन उपचार गर्न आएको देखिन्छ । विशेष त दुर्घटनामा परेर हाडजोर्नी भाँचिएको बिरामीहरुको मुख्य रोजाइमा चितवन पर्ने गरेको छ । सस्तो खर्चमा सजिलै राम्रो उपचार सेवा पाउने भएकोले पनि बिरामीहरु चितवन आउने गरेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

एलाइभ अस्पतालका अध्यक्ष डा प्रमोद लामिछाने छिटो शल्यक्रिया गरेर निको हुने उद्देश्यले पनि बिरामीहरु चितवन आउने गरेको बताउँछन् । उनले भने, ‘काठमाडौँको जत्तिकै सुविधा सस्तो शुल्कमा चितवनमा पाइने भएकोले पनि कतिपय बिरामीहरु यता आउने गरेका छन् ।’ उनले काठमाडौँको नाम चलेको अस्पतालहरु भन्दा हाडजोर्नीको उपचार चितवनमा धेरै सस्तो भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘उपचार सस्तो मात्र होइन हाम्रो ट्रमा सेन्टरमा विकसित देशका जस्ता आधुनिक प्रविधिहरु उपलब्ध भएका छन् ।’ डाक्टर र नर्सले बिरामीलाई गर्ने व्यवहारको कारणले पनि भरतपुरको ट्रमा सेन्टर सबै बिरामीको रोजाइमा परेको उनले दाबी गरे ।

ट्रमा सेन्टरमा उपचाररत भट्टराईले पनि काठमाडौँको भन्दा राम्रो उपचार सेवा भरतपुरमा पाएको बताए । उनीजस्तै यसअघि पनि पाँच जना बिरामी उपचार गरेर काठमाडौँ फर्किसकेको एलाइभ अस्पतालले जनाएको छ । क्यान्सर बाहेकका धेरै बिरामीहरु चितवनबाट रिफर भएर काठमाडौँ गइरहेको समयमा यसरी हाडजोर्नीका बिरामी चितवन उपचारको लागि आउनु पक्कै पनि जिल्लाकै लागि गौरवको विषय भएको चिकित्सकहरु बताउँछन् । चितवनको उपचारप्रति विश्वास बढेर नै यस्तो भएको एलाइभ अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>