चितवन विशेष

गैँडाकोट महोत्सवमा आज हजारौँ दर्शकको भीड, महोत्सव एक दिन थपियो

Banner

चितवन, माघ २५

गैँडाकोट नगरपालिकाको नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव एक दिन थप गरिएको छ ।

माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सव माघ २७ गतेसम्म सञ्चालन हुने गरी एक दिन थपिएको जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवपुरका अध्यक्ष एवम् महोत्सव मूल संयोजक अमृत भट्टचनले जानकारी दिए ।  दर्शकको चाप र चाहनाका कारण महोत्सव एक दिन थप गरिएको भट्टचनको भनाइ छ । यसअघि माघ २६ गते महोत्सव समापन गर्ने आयोजकले जनाएको थियो । पछिल्लो समय महोत्सवमा दर्शकको चाप बढ्दै गएको र अझै थप गर्नुपर्ने अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै एक दिन थपिएको भट्टचनले बताए ।

माघ २७ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महोत्सवको समापन गर्ने संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । जिल्ला उद्योग वाणिज्य संघ नवलपुरको आयोजनामा ‘नवलपुरको आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६’ भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा प्रमुख आकर्षणको रुपमा लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन), नारायणी नदीमा ¥याफ्टिङ तथा रसियन कलाकारको बेली डान्स रहेका छन् ।

महोत्सवमा सबैभन्दा बढी दर्शक आज

गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको तेस्रो गैँडाकोट महोत्सवमा आज अहिलेसम्मकै सबैभन्दा बढी दर्शकहरु उपस्थित भएका छन् ।

जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा माघ १५ गतेदेखि सुरु भएको महोत्सवमा आज शनिबार मात्रै ५० हजार बढी दर्शकले अवलोकन गरेका संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।

महोत्सव सकिन केही दिन मात्रै बाँकी रहेको शनिबार समेत परेकाले आज सबैभन्दा बढी दर्शकले अवलोकन गरेका सापकोटाको भनाइ छ । महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी ३५० भन्दा बढी स्टलका साथै बाल उद्यानसमेत रहेका जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।

भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा शनिबार सम्झना भण्डारी, अर्जुन कौशल, विधान कार्कीलगायतका कलाकारले प्रस्तुति राखेका महोत्सवको साँस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए । महोत्सवमा आइतबार प्रकाश सपूत तथा स्थानीय कलाकारको प्रस्तुति रहने जानकारी दिँदै कँडेलले दैनिक रुपमा रसियन कलाकारहरुले समेत प्रस्तुति राखेका बताए । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>