खेलकुद
रगंशाला निर्माणका लागि हुने महायज्ञबाट ५० करोड बढी उठ्छ: धुर्मुस

चितवन, माघ १४-
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माणार्थ हुने धनधान्याचल महायज्ञबाट ५० करोडभन्दा बढी संकलन हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।
चितवनको रामपुरमा निर्माणाधीन अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन हुन लागेको महायज्ञमा सबैले मनदेखि नै सहयोग गर्ने भएकोले सो रकम संकलन हुने उनले बताए । रंगशाला निर्माण चितवनको मात्र नभई सिंगो देशको नै अभियान भएकोले सबैले सहयोग गर्ने उनको भनाइ छ । ‘यो सिंगो देशको प्रतिष्ठाको अभियान हो र यसमा ७७ वटा जिल्लाको ७७ वटै कक्ष हुने भएको कारण राष्ट्रव्यापीरुपमा नै महायज्ञमा सहभागिता हुने भएकोले ५० करोड बढी उठ्ने विश्वास छ’, उनले भने । उनले चितवनबासी सबैले यो अभियानमा साथ र सहयोग गर्ने भएकोले पनि लक्षित रकम उठान समस्या नहुने बताए । ‘चितवनबासीले एकै चोटी साथ र सहयोग गर्दै हुनु हुन्छ’ उनले भने, ‘त्यसैले ५० करोड बढी उठ्छ । ’
जिल्ला भित्र गठन भएका सहयोग समितिहरुको आँकडाले पनि लक्षित रकम संकलन हुनेमा दुई मत नरहेको उनको भनाइ छ । महायज्ञ अघि मैदानको आकार तयार भइसक्ने भएकोले यसले थप टेवा पुग्ने उनको विश्वास छ । यस्तै उनले महायज्ञमा सहभागी भई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि २६ गतेसम्म धनधान्याचल महायज्ञ हँुदैछ । महायज्ञमा पण्डित दिनबन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहनेछन् । महायज्ञ सफल बनाउनका लागि सांसद विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । यस्तै अन्य विभिन्न उपसमितिहरु गठन गरेर तयारी तीव्र पारिएको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।
























