चितवन विशेष
रगंशाला निर्माणमा चितवनका महिला नेतृहरु जुटे, महिला परिचालनको जिम्मा रावललाई

चितवन, माघ १२ –
चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि चितवनका महिला नेतृहरु तथा महिला अधिकारकर्मीहरु जुटेका छन् ।
रंगशालामा आर्थिक सहयोगार्थ हुने धनधान्याचल महायज्ञमा मातृशक्तिको रुपमा रहेका महिलाहरु परिचालन गरेर आर्थिक संकलन गरिने लक्ष्य राखिएको छ । आज भरतपुर महानगरपालिकामा बसेको भेलाले मातृशक्ति परिचालनका लागि राष्ट्रियसभाकी सांसद पार्वती रावलको संयोजकत्वमा मातृशक्ति परिचालन समिति गठन गरेको छ ।
उक्त समितीको उपसंयोजकमा मीना खरेल रहेकी छिन् भने सचिवमा संगिता भट्टराई रहेकी छिन् । समितिले महायज्ञ सफल बनाउन सहयोग गर्ने संयोजक रावलले बताइन् । पछिल्लो समय महिलाहरु विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा पुगिसकेकोले यो महान अभियान सफल बनाउन पनि महिलाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । समितिमा सबै क्षेत्रका महिलाहरुलाई समेट्ने उनले बताइन् ।
विभिन्न क्षेत्रमा योगदान पु¥याएका सबै महिलाहरुलाई एकजुट बनाएर महायज्ञमा परिचालन गरिने उनले बताइन् । महायज्ञमा उनीहरुको भौतिक उपस्थिति मात्र नभई आर्थिक संकलनसमेत सहयोग गर्ने उनको भनाइ थियो । महायज्ञका लागि परिचालन गरिने मातृशक्तिले आआफ्नो स्थानीय तहबाट आर्थिक संकलनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
यस्तै समितिले क्षेत्रगत रुपमा एकएक जनालाई नेतृत्वको जिम्मेवारी दिएको छ । सांसद, पूर्वसांसद, मन्त्री, पूर्वमन्त्री लगायतको तर्फबाट पार्वती रावल, चिकित्सा क्षेत्रको नेतृत्वको जिम्मेवारी डा. शारदा कँुवर तथा उद्यमीहरुको तर्फबाट रजनी मास्केलाई नेतृत्वको जिम्मेवारी दिएको छ । यस्तै सामाजिक संघसस्थाहरुको तर्फबाट मीना खरेल, राजनीतिक दलहरुको तर्फबाट संगिता भट्टराई, महिला सहकारीको तर्फबाट कलावती ओझा, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, वकिलको तर्फबाट फूलमाया रानाभाटलगायतलाई नेतृत्वको जिम्मेवारी दिएको छ ।
मूल समारोह समिति संयोजक विजय सुवेदीले रंगशाला निर्माणार्थ हुन लागेको महायज्ञ सफल बनाउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताए । महिलाहरुले विभिन्न क्षेत्रमा सफल नेतृत्व गरेको बताउँदै सुवेदीले यस अभियानमा पनि महिलालाई महत्वपूर्ण भूमिका खेल्न जोड दिए । उनले चितवनबासीले मात्रै पनि रगंशाला निर्माण महाअभियान सफल बनाउन सक्ने बताए । चितवनबासीले चाहे रगंशाला निर्माणका लागि आवश्यक ३ अर्ब उठाउन कुनै समस्या नहुने उनले बताए । उनले रगंशाला निर्माणार्थ १९ गतेबाट सुरु महायज्ञमा लक्ष्य भन्दा धेरै आर्थिक संकलन हुने विश्वास व्यक्त गरे । उनले महायज्ञमा रत्ननगर नगरपलिकाबाट दुई करोड तथा अन्य पालिकाबाट १|१ करोडको दरले संकलन हुने अपेक्षा रहेको बताए । यो कर्मबाट धर्म कमाउने अवसर भएको भन्दै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित महिलाहरुले राष्ट्रकै गौरवको परियोजना सफल बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले यस्ता अभियानमा महिलाको उपस्थिति न्यून देखिने बताउँदै उनीहरुले यस पटक सबै एकजुट भएर लाग्ने बताए ।
























