खैरहनी

खैरहनी नगरपालिकाको नगर सभा: वार्षिक बजेट ९० करोड बढी

Banner

चितवन, माघ ११-

खैरहनी नगरपालिकाको छैटौँ  नगर सभा शनिबार सम्पन्न भएको छ ।

हिउँदे अधिवेशनको रुपमा लिइने नगर सभाले संशोधन आर्थिक विद्येयक र संशोधित बिनियोजन विद्येयकसहित विभिन्न ८ वटा निर्णय पारित गरेको छ । नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको नगर सभामा नगर सभा सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले संशोधित विद्येयक सभामा पेस गरेका थिए ।

नगर सभामा नगर प्रमुख लालमणि चौधरीले सार्वजनिक महत्वका विषयमा रहेको भूकम्पपीडितहरुको गुनासो सम्बोधनका लागि धेरै छुट भएकाले छुट भएकाहरुको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायममा अनुरोध गर्ने र जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकलाई आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अभिप्रेरित गर्न प्रस्ताव पेस गरिएकोमा सर्वसम्मतीले पारित भएको थियो ।

नगर सभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर ९० करोड ७४ लाख ७१ हजार रुपैयाँ पु¥याएको छ । गत असारको नगर सभाले ८० करोड ६० लाख ५१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको थियो । छैटौं नगर सभाले आठ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको वजेट वृद्धि गरेको हो । संरक्षित वन रोयल्टी वापतको १७ लाख ३५ हजार ,नगद मौज्दात बढेर आठ करोड ५४ लाख पुग्दा चालु आर्थिक वर्षको बजेट ९० करोड पुगेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

अवैध उत्खनन् बापत प्राप्त हुने राजस्व यसअघि बजेटमा समावेश नगरिएकोमा यस नगर सभाले बजेटमा राखेको छ । नगर सभाले वडातर्फ योजना संशोधन गरेर ४१ र शाखागत तर्फ संशोधन गरेर १३ वटा योजना कायम गरेको छ । नगर सभामा विभिन्न ८ वटा विषयत समितिको प्रगति प्रतिवेदन समेत पेस भएको थियो । न्यायिक समितिको तर्फबाट उपप्रमुख समेत रहेकी न्यायिक समिति संयोजक सुनिता थपलिया, लेखा समितिको तर्फबाट संयोजक टिकाराम तिमिल्सिना, विद्येयक समितिको तर्फबाट संयोजक देवबहादुर बस्नेत, आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी, वातावरण तथा विपद् व्यवस्थापन समितिको तर्फबाट संयोजक भूमिप्रसाद कँडेल, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको तर्फबाट संयोजक टिकादत्त इटनी , सामाजिक विकास समितिको तर्फबाट संयोजक मनेजर महतो र पूर्वाधार विकास समितिको तर्फबाट संयोजक होमकुमार पुनले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>