खेलकुद
चितवनको निर्माणाधीन रंगशालामा इन्डो कराँते प्रतियोगिता हुने

निशा श्रेष्ठ
चितवन, माघ ६-
चितवनमा यही माघ १६ देखि चौथौ इन्डो कराँते प्रतियोगिता हुने भएको छ ।
जापन गोजु–रियो कराँते डो केन्वाकाई नेपाल संघ चितवन शाखाको आयोजनामा माघ १६ देखि १८ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गरी सो प्रतियोगिताबारे जानकारी गराइएको हो । चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा भारत र नेपाल गरी ३५० खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक पुष्प आचार्यले जानकारी दिए ।
प्रतियोगितामा देशभरीका १९ जिल्लाबाट ३०० र ५० जना खेलाडी छिमेकी देश भारतबाट सहभागिता रहने संयोजक आचायले जानकारी दिए । प्रतियोगितामा विजेता समूहलाई ट्रफी र मेडल पुरस्कारको व्यवस्था गरिएको उनले बताए । विभिन्न उमेर समूह र तौलका आधरमा ६४ विधामा खेल हुने जापान गोजु–रियो कराँते डो केन्वाकाई नेपाल संघ चितवनका प्रमुख प्रशिक्षक राजु पौडेलले जानकारी दिए ।
१३ वर्षमुनि उमेरसमूह २१ विधा , १३ देखि १९ उमेरसमूहका लागि २४ विधा र १९ देखि माथि खुला १९ विधामा खेल हुने प्रशिक्षक पौडेलले जानकारी दिए । यस अगाडि भारतको गोवामा सम्पन्न दोस्रो इन्डो–नेपाल कराँते प्रतियोगितामा नेपालको टिम प्रथम भएको थियो । प्रतियोगिता गर्नका लागि संघले १९ लाखको खर्च अनुमान गरेको छ । प्रतियोगिताको लागि भरतपुर महानगरले एक लाख र उधोग वाणिज्य संघ चितवनले २० हजार सहयोग गरेको संयोजक आचार्यले जानकारी दिए । प्रतियोगिता सफल बनाउन संघका केन्द्रीय अध्यक्ष विदुर कुँवर र केन्द्रीय प्रशिक्षक कालो बेल्ट पाँचौ डन रमेश अधिकारी आउने संघको चितवन शाखाका अध्यक्ष उमाकान्त आर्चायले जानकारी दिए ।























