चितवन विशेष
विभाजित विश्व हिन्दू महासंघलाई एक बनाउन चितवनबाट अभियान सुरु

चितवन, माघ ४ –
विभिाजित विश्वहिन्दू महासंघ काठमाडौँको बाँसबारी र सानोभर्याङमा केन्द्रीय कार्यालय रहेको दुई संगठनलाई एक बनाउन चितवनबाट एकता अभियान सञ्चालन गरिएको छ । महासंघमा राजावादीहरुको एक समूह र अन्य दल समर्थकहरुको अर्काे समूह रहँदै आएको छ ।
दुवै संघमा आवद्ध केन्द्रीय र जिल्ला नेतृत्वसहित दुई संघलाई एक बनाउन चितवनमा एकता समिति गठनसमेत गरिएको छ । दुवै संघमा आवद्ध ५/५ जनाको एकता समिति गठन गरिएको हो ।
समितिमा विश्वहिन्दू महासंघ बाँसबारीका केन्द्रीय सदस्य गजेन्द्रबहादुर अर्याल, नारायणी अञ्चल सभापति बलराम शिवाकोटी, उपसभापति कृष्णराज पन्त, सदस्य लेखनाथ वास्तोला, जिल्ला सभापति बालकुमारी अर्याल, र जिल्ला सदस्य मञ्जु पाण्डे रहेका छन् । त्यसैगरी सानो भर्याङका केन्द्रीय सदस्य अनिता खरेल, धुव्रकुमार सिलवाल, चितवन सभापति प्रेमप्रसाद गैरे, कोषाध्यक्ष रामप्रसाद ओस्ती, उपसभापति राजेन्द्र आचार्य र जिल्ला सदस्य महाप्रसाद सिलवालबीच मिलन समिति बनेको छ । सो समितिका संयोजक अर्यालको संयोजकत्वमा आज भरतपुरमा बैठक बसेको छ ।
सो बैठकले दुई संघको एकतामा आवश्यक मार्ग खोजी दिगो मिलनमा जाने निर्णय गरेको छ । एकता समितिले एक हप्तापछि बैठकमा एकताका लागि भएका प्रगति बारेमा थप छलफल गरी अगाडि बढ्ने संयोजक अर्यालले प्रष्ट पारे । साथै माघ १५ गते देखि ओमकार परिवारको सक्रियता भरतपुरमा हुने महायज्ञको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने छलफलसमेत गरिएको संयोजक अर्यालले बताए । दुई विश्व हिन्दू महासंघ हुनै पर्ने भन्दै चितवनका धार्मिक अभियन्ता विश्वहिन्दू महासंघ केन्द्रीय सदस्य सानो भर्याङ टंकनाथ पौडेलले पहल गरेको जानकारी दिए । यदि एक हुन सकेन भने विश्व हिन्दू महासंघको पद त्याग गर्ने समेत तयार भएको पौडेलले बताए ।
























