चितवन विशेष
चितवनमा युवाहरुले गरे रूखहरूको शोक सभा : ‘के वातावरणमैत्री विकास यही हो?’

निशा श्रेष्ठ
चितवन माघ १-
‘हियर आई वाज स्ट्यान्डिङ्ग टल एण्ड ब्रेभ, डे किल्ड मी'(म यहाँ अग्लो र बहादुर बनि उभिरहेको थिए, उनिहरुले मेरो हत्या गरे ।)
भरतपुर महानगर चौबिसकोठी चोकको एउटा काटीएको ठुटो पिपलको रूखमामा टागिएको कालो ब्यानरमा लेखिएको वाक्याश हो यो ।
त्यसैका वरपर मंगलबार साझ केही युवाहरु प्लेकार्ड हातमा लिएर बसिरहेका दृश्य देख्न सकिन्थ्यो । अरू समय भन्दा अलिक फरक माहोल थियो चौबिसकोठी चोकमा ।ति थिए चितवनका युवा अभियन्ताहरु जो ‘विकासका नाममा काटिएका रुखहरुको सम्झनामा शोक सभा’ नामक फरक किसिमको कार्यक्रम सहित चौबिस्कोठीमा जम्मा भएका थिए ।
धेरै जसो चौबिसकोठीमा रहेको आइल्याण्ड गोडमेल गर्दै गरेका, सोही क्षेत्रमा सरसफाई गर्दै गरेका र निःशुल्क कपडा घर मार्फत दीन दुःखीहरुलाई निःशुल्क कपडा सेवा दिइरहेका ति अनुहारहरू यो पटक त्यहि ठाउँमा प्लेकार्डका साथ देखिएका हुन् ।सहभागिहरूले ‘ के फर्केर आउला त सहरमा हरियाली?’, ‘काटीएका रूखहरूको बिकल्प के?’, ‘कंक्रिटको सहर, कंक्रिटकै मान्छे, कंक्रिटकै मन ।’ ‘सडक बिस्तार गर्ने क्रममा के कति रूखहरू काटिनु पर्ने थियो अनि के कति रूखहरू काटिएका छन्?’, ‘रूख काटिन यति हतार गरिएको छ बाटो बन्न कति समय लाग्छ?’, ‘सडकमा हरियाली प्रवर्धनका योजना के छ?’, ‘के वातावरणमैत्री विकास भनेको यही हो?’ जस्ता प्रश्नहरू सहितका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

भरतपुर महानगरपालिकाले गोन्द्राङ-पुल्चोक सडक विस्तारको लागि चौबिसकोठी लगायत अन्य सडक वरिपरिका रुखहरु धमाधम काटिरहेको छ। ६ लेनको सडकको लागि ५० मि. मार्ग अधिकार भित्रका सबै संरचना र रूखहरू हटाउन लागिएका हुन् । सडकको दुबै पट्टी यो काम हुनुपर्ने भएता पनि अहिले भने एयरपोर्ट तिर पर्ने रूखहरू काट्ने काम धमाधम भइरहेको छ । रूखहरू काटिएपनि योजना भित्र नै हरियालीको कार्यक्रम रहेको बताइएको छ । कति रूखहरू पार्क स्ट्रिप र साइड वाल्कको बिचमा पर्ने भएता पनि त्यसलाई जोगाउन भन्दा काट्न बढी मेहनत गरिएको र काटिएका रुखहरुको तत्काल बिकल्प के हुन् त भन्ने प्रश्नको जवाफ खोज्दै शोक सभाको आयोजना गरिएको आयोजक बेटर चितवनका संस्थापक अध्यक्ष ईन्जिनियर सागर कार्कीले जानकारी दिए ।
शोक सभामा बोल्दै उनले विकास कार्यको विरोध नगरेको र विनास कार्यको समर्थन पनि नगरेको भन्दै सडकको राइट अफ वे (मार्ग अधिकार) मा नै नपर्ने रूखहरू समेत काटिन लागिएकाले आवाज उठाउनु परेको बताए । सहरी विकास मन्त्रालयको स्वीकृतिमा सडक विभागले जिल्ला वन कार्यलयसँग सहकार्य गरेर सडकको विच भागबाट २५ मिटर दायाँ र बायाँका रुखहरू काटिने भनिएतापनि चौबिसकोठी चोकमा भने २५ मीटर बाहिरका समेत रूखहरू काटिन थालिएको हो ।

वडा प्रमुखलाई समेत जानकारी नदिई सडकको रूख काटिएको बिषयमा बन कार्यलयमा बुझ्दा आफुले काट्न नलगाएको भन्ने जवाफ प्राप्त भएको कार्कीले बताए । हालको सडक बिस्तारको अवसर छोपेर हाँगाहरू काट्ने निहुमा नियतबस नै सो रुखहरु काट्न खोजिएको हुनसक्ने भन्दै अफुहरूले मार्ग अधिकार बाहिरका कुनै पनि रूखहरू काट्न निर्देश नदिएको र नदिने जिल्ला बन कार्यलयका सहायक बन अधिकृत कलाधर बास्तोलाले बताए ।
यसैगरी वातावरण अभियन्ता तथा सर्प रेस्क्युअर सुनिल सापकोटाले सडकमा एकैपटक यति धेरै अनि ऐतिहासिक महत्व समेत बोकेका रुखहरू काटिदै गर्दा विकासका नाममा भावनात्मक उत्पीडन गर्ने काम भएको भन्दै तत्काल त्यसको भरपाईको लागि बैकल्पिक ठाउँमा वृक्षरोपणसँगै अन्य वातावरण संरक्षणका कार्यक्रमहरू अघि सार्न महानगरपालिकालाई सुझाव समेत दिए।


























