क्रिकेट

चितवन क्रिकेट रंगशाला निर्माणमा विदेशी विज्ञ खटिँदै, चार महिनामा अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने

Banner

चितवन, पुस २७-

धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा आईसीसी ग्राउण्ड विशेषज्ञ बन्दुला वार्नपुरा जोडिएका छन् । आज फाउण्डेसनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुरबीच रंगशालाको मैदानको काम गर्ने गरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसँग जोडिन पाएकोमा खुसी भएको फाउण्डेसनले बताएको छ । उनका अनुसार चार महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने मैदान तयार गर्ने र निर्माण अवधिपछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् ।

वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तानसमेत हुन् । उनी झण्डै ८ वर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाइरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागि पहिलो ओडीआई. खेल्ने खेलाडी समेत हुन् । जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए । वार्नपुराले आफ्नो करियरमा १९७९ को विश्वकपमा भारत विरुद्धको खेलमा १८ रन र १ विकेटलिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाका लागि पहिलो जित थियो र उनको करियरमा यो खेलले इटा थप्ने काम मात्र गरेन यो एक एसोसिएट सदस्य राष्ट्रद्वारा श्रृलंकाका लागि एक मात्र जित थियो, जसमा उनको नाम दर्ज छ । उनी श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षकसमेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (एसीसी) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथवीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयककारुपमा समेत उनले काम गरिसकेका छन् । अहिले उनी आईसीसीअन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् ।

जनस्तरबाट सहयोग संकलन गरी निर्माण गरिने यो रंगशालामा विदेशबाट ल्याइएको पहिलो विशेषज्ञ उनी हुन् । वार्नपुरालाई रङ्गशाला निर्माण अवधिभरका लागि सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘रंगशाला निर्माण अन्तर्राष्ट्रियस्तरको मात्रै होइन, यो एउटा नेपालको गौरव पनि भएकाले विज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएका हौं’ वार्नरको विज्ञता अनुसार अभियानमा जोडिन बोलाइएको बताउँदै धुर्मुसले भने, ‘अझै पनि विशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएका वा विज्ञहरु बाहिरबाट ल्याएर भएपनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रंगशाला बनाउँछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>