क्रिकेट
चितवनमा निर्माणधिन क्रिकेट रंगशालाको अन्तर्राष्ट्रिय ग्राउण्ड विशेषज्ञ बन्दुलाले गरे निरीक्षण

चितवन, पुस २५–
चितवनको रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अन्तर्राष्ट्रिय ग्राउण्ड विशेषज्ञ बन्दुला वार्नापुराले निरीक्षण गरेका छन् ।
आज रंगशालामा पुगेर वार्नापुराले निरीक्षण गर्नुको साथै प्राविधिकहरुलाई आवश्यक सुझाव समेत दिएका छन् । काठमाडौंमा हुन लागेको नेपाल, ओमान र अमेरिकाबीचको ट्राइ सिरिजका लागि वार्नापुरालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले नेपाल पठाएको हो । सोही अवसर पारेर वार्नापुरा बन्दै गरेको रगंशाला निरीक्षण गर्न चितवन आइपुगेका हुन् ।
रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाण्डेशनका अध्यक्ष सिताराम कट्टेलले नमुना रंगशाला निर्माणका लागि अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त विज्ञहरुलाई ल्याइएको बताए । उनले भने–‘विश्वमा पछिल्लो समय प्रयोग भइरहेका नयाँ प्रविधिहरु हामीले यस रंगशालामा प्रयोग गर्दैछौं, त्यसैका लागि वार्नापुरालाई चितवन ल्याएका हौं ।’
कट्टेलका अनुसार आइसिसीको प्रतिनिधिका रुपमा नेपाल वार्नापुरा तीन दिनसम्म चितवनमै बसेर रंगशालाको निरीक्षण र सुझाव दिने छन् । वार्नापुरा आइसीसी एसिया डेभलपमेन्ट म्यानेजर र श्रीलंकाका पहिलो टेस्ट टिमका कप्तान समेत हुन् । उनले रंगशालामा भइरहेको काम, मैदान र पिचको गुणस्तर एवम् गर्न सकिने सुधारका बारेमा आवश्यक निर्देशन र समन्वय गर्ने नेपाल क्रिकेट संघकी पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) भावना घिमिरेले बताइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगशालामा अहिले ड्रेनएज र सेरवाल तथा पिचको काम भइरहेको छ ।
























