चितवन विशेष

सिजी ल्यान्डमार्कः सपिङ मल संस्कृतिमा अभ्यस्त हुँदै चितवनबासी

Banner

चितवन, पुस २३-

रत्ननगरका सुभास रेग्मीका लागि यसपटकको अंग्रेजी नयाँ वर्ष सम्झनामा रहिरहने घटना बनेको छ । ‘विगतका अंग्रेजी नयाँ वर्ष कसरी आएर कसरी जान्थ्यो थाहा थिएन । यसपटकको अविस्मरणीय बन्यो,’ उनी भन्छन्, ‘नेपाली नयाँ वर्षको दिन पनि यस्तै होस् भन्ने कामना गरेको छु ।’  उनी यति खुसी हुनुको कारण भरतपुरमा खुलेको सिजी ल्यान्डमार्कमा नयाँ वर्षको अघिल्लो दिन आयोजित सांगीतिक कार्यक्रम नै रहेछ । त्यस दिन सिजी ल्यान्डमार्कले चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटालाई बोलाएर सांगीतिक कार्यक्रम गरेको थियो । न्यू इयर इभमा स्थानीय सांगीतिक समूह ट्र्यांगल व्याण्डले पनि उक्त मलमा प्रस्तुति दिएको थियो ।

उक्त कार्यक्रमले रेग्मी जस्ता नयाँ पुस्ताका हजारौंको मन जितेको रहेछ । ‘ठूलठूला सपिङ मलहरु त धनीमानीका लागि खुलेका नाफामूलक ठाउँ जस्तो लाग्थ्यो तर होइन रहेछ । जो पनि जान सक्ने, जो पनि रमाउन सक्ने वातावरण पाएँ,’ रेग्मीले अनुभव सुनाए, ‘म मात्रै होइन मेरा सबै साथीले त्यस दिन फरक किसिमको रमाइलो अनुभव गरे ।’

त्यसो त ठूलठूला व्यापारिक कम्प्लेक्सले विभिन्न पर्व वा विशेष दिनमा सांगीतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने ग्राहक तान्नकै लागि हो । तर, त्यसको मुख्य आशय मल संस्कृतिबारे सर्वसाधारणमा चेतना जगाउनु हो भन्छन्, सम्बद्ध व्यवसायी । ‘ठूलठूला भवन, त्यहाँ उपलब्ध अत्याधुनिक सुविधा देख्दा सर्वसाधारणलाई यो हाम्रा लागि होइन भन्ने भ्रम पर्न सक्छ,’ सिजी ल्यान्डमार्कमा सातवटा पसल सञ्चालन गरिरहेका युवा व्यवसायी विदुर पौडेल भन्छन्, ‘तर यथार्थ त्यस्तो हुँदैन । बरु अन्यत्र मनलाग्दी मूल्य राखेर बार्गेनिङ गर्ने वा नक्कली सामानलाई सक्कलीको मूल्यमा बेच्ने जस्तो गलत व्यापारिक अभ्यास हुन्छ । ठूला मलमा हुँदैन ।’

पिटर इंग्ल्यान्ड, स्केचर्स, डुल्ला, डेनोभो जस्ता विश्वविख्यात ब्रान्डको आउटलेट सञ्चालन गरिरहेका पौडेलको अनुभवमा चितवनका सर्वसाधारण विस्तारै मल कल्चरमा भिज्दैँछन् । सुरुसुरुमा मलमा आउन आनाकानी गर्ने ग्राहकले अचेल बाहिर सामान किन्नै छाडेको उनको अनुभव छ । ‘चौबिसकोठीका एकजना ग्राहकले त सुनेको व्यापारिक मल र भोगेको मलबीच आकाश जमिनको फरक रहेछ भनेर मसँगै भन्नुभयो,’ पौडेलले सुनाए ।

३५ वर्षदेखि तयारी पोसाकको व्यापार गर्दै आएका अर्का व्यापारी हरि भुजेल उक्त मलमा रहेको आफ्नो पसलको कारोबारबाट उत्साहित छन् । ‘सुरुमा त नयाँ ठाउँ के हो के जस्तो लागेको थियो । अहिले उत्साहजनक वातावरण छ । बाहिरका व्यापारीले सर्वसाधारणलाई मलका विषयमा नकारात्मक कुरा सुनाउने प्रयास पनि नगर्ने होइनन्, तर जब उपभोक्ताले सत्य थाहा पाउँछन् अनि उनीहरु अन्त जानै गाह्रो मान्छन् ।’

ठूला मलको सजावट, उपलब्ध अत्याधुनिक सुविधा, व्यापारीले प्रदर्शन गर्ने नम्र व्यवहार र बेला बेलामा आयोजना गरिने मनोरञ्जनात्मक गतिविधिले राजधानीलगायत उदीयमान सहरका सर्वसाधारणलाई क्रमशःआफूतिर आकर्षित गरिरहेका छन् । ठूला मलहरु किनमेल गर्नेका लागि मात्र नभएर फुर्सदको समय बिताउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्न थालेका छन् ।  मंगलबार भरतपुरको सिजी ल्यान्डमार्कमा भेटिएका रामनगरका सन्तोष कार्कीले आफू फुर्सदको सदुपयोग गर्न त्यहाँ पुगेको बताए । ‘अन्त जस्तो सामान किन्नै पर्छ भन्ने रहेन छ । बरु सित्तैमा धेरै रमाइला कुरा अनुभव गर्न पाइयो,’ मलमा यता उता दौडिरहेका साना केटाकेटीलाई देखाउँदै उनले भने, ‘ल हेर्नुस् त ती केटाकेटी कति रमाएका ?अन्त भए यसरी रमाउन कहाँ पाउनु ?’

फिल्म हेर्न मन लागे हल, खाजा खान मन लागे रेस्टुरेन्ट रथरीथरीको रमझम सबै एकै ठाउँमा देख्दा आफूलाई निकै नौलो लागेको उनले सुनाए । व्यापारिक कम्प्लेक्सहरुले बेला बेलामा मनोरञ्जनात्मक कार्यक्रम गरेर सर्वसाधारणमा मल संस्कृति सिकाउने प्रयास गर्छन् । सिजी ल्यान्डमार्कले पनि सोही अनुरुप नयाँ वर्षमा रमाइलो कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्दै जाने योजना बनाएको ल्यान्डमार्कको व्यवस्थापन हेरिरहेको बिल्डिङ म्यानेजमेन्ट कम्पनीका एक जना कर्मचारीले बताए ।  अचेलका व्यापारिक कम्प्लेक्समा सबै सुविधा एकै ठाउँमा पाइन्छ । यसले पनि सर्वसाधारणलाई आकर्षित गरिरहेको मान्न सकिन्छ । विश्वविख्यात ब्रान्डको सोरुमदेखि सफा र स्वस्थखाना सर्भ गर्ने रेस्टुराँसम्म सिनेमाहलदेखि वातानुकूलित पसलसम्मको सुविधा ठूला व्यापारिक कम्प्लेक्सहरुमा हुन्छन् ।

सिजी ल्यान्डमार्कमा रहेको मल्टिप्लेक्स सिनेमा हल सिनेप्लेक्सका सञ्चालक गणेश श्रेष्ठ पनि उक्त सिनेमा हलले दर्शकबाट सोचेभन्दा बढी राम्रो प्रतिक्रिया पाइरहेको अनुभव सुनाउँछन् । व्यापारिक कम्प्लेक्सहरुमा धेरैजसो आउटलेट र सोरुम ब्रान्डेड सामानको हुने र त्यस्ता ठाउँमा सक्कली सामानको मात्र कारोबार हुने हुँदा मूल्य केही बढी जस्तो लाग्छ सक्छ । तर, गुणस्तरको ग्यारेन्टी हुने हुँदा ढुक्कले किनमेल गर्न सकिने त्यहाँ फेन्सी पसल सञ्चालन गरिरहेकी रोजिना श्रेष्ठको दाबी छ । ‘बाहिर देख्दा उस्तै तर, नक्कली सामान दिन्छन् अनि ग्राहकलाई यही सामान मलबाट यति मूल्यमा ल्याइ दिनुभयो भने बिना पैसा दिन्छु भनिदिन्छन्,’ उनी भन्छिन्, ‘अनि ग्राहकलाई हो किझैं लाग्छ । एकपटक मलमा पसेर किनमेल गरेपछि उनीहरुमा रहेको भ्रम हट्ने रहेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>